तानसेन, पाल्पा- तानसेन नगरपालिकाको आयोजनामा नगरपालिकामा सूचीकृत मेलमिलापकर्ताहरूका लागि एकदिवासीय ‘कानुनी लिखत सम्बन्धी तालिम तथा पुस्तक वितरण कार्यक्रम’ सम्पन्न भएको छ। स्थानीय न्यायिक प्रक्रियालाई थप व्यवस्थित र कानुनी रूपमा सबल बनाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमको उद्घाटन गर्दै तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले स्थानीय स्तरमा हुने सानातिना विवादहरू मेलमिलापको माध्यमबाटै टुङ्ग्याउन सके समाजमा शान्ति र भाइचारा कायम हुने बताउनुभयो। उहाँले भन्नुभयो, “मेलमिलापकर्ताहरूलाई कानुनी रूपमा दक्ष बनाउन यो तालिमले महत्त्वपूर्ण भूमिका खेल्नेछ।”
तालिममा जिल्ला न्यायाधीश हरि प्रसाद शर्मा उपाध्यायले कानुनी लिखत तयार पार्दा अपनाउनुपर्ने सावधानी र कार्यविधिबारे प्रशिक्षण दिनुभयो। उहाँले स्थानीय स्तरमा गरिने मेलमिलापका निर्णयहरू कानुनी रूपमा त्रुटिरहित हुनुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी, जिल्ला अदालत पाल्पाका श्रेस्तेदार केशव पराजुलीले मेलमिलापकर्ताहरूका लागि विवाद समाधानका प्रक्रिया, ऐन-नियम र कार्यक्षेत्रका बारेमा सहभागीहरूलाई प्रष्ट पार्नुभयो। उहाँले विवाद निरुपण गर्दा अपनाउनुपर्ने व्यावहारिक कौशल र न्यायिक समितिको अवधारणाबारे जानकारी गराउनुभयो।
तालिमको अन्तिम चरणमा सहभागी मेलमिलापकर्ताहरूलाई उपयोगी कानुनी पुस्तक वितरण गरिएको थियो। कार्यक्रमका अध्यक्ष एवं न्यायिक समिति संयोजक प्रतिक्षा गाहा सिंजालीले न्यायिक समितिलाई थप विश्वसनीय र प्रभावकारी बनाउन मेलमिलापकर्ताहरूको भूमिका केन्द्रमा रहने उल्लेख गर्नुभयो। उहाँले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न र न्याय सम्पादनमा निष्पक्षता कायम गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा न्यायिक समिति सदस्य सविता भट्टराईले स्वागत मन्तव्य राख्दै तालिमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो। यस तालिमले तानसेन नगरपालिका भित्रका विवाद समाधान प्रक्रियालाई थप व्यवस्थित र दिगो बनाउने विश्वास लिइएको छ।













