सुमित्रा कंडेल रम्भा - रम्भा गाउँपालिका पाल्पाले चालु आर्थिक वर्षका विकास योजनाहरू आगामी जेठ २० भित्र सम्पन्न गर्ने गरी कार्यसम्पादनमा तीव्रता दिएको छ ।
विकास निर्माणका कामलाई समयमै टुंग्याएर आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट निर्माणमा केन्द्रित हुने लक्ष्यका साथ पालिकाले आफ्नो सक्रियता बढाएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विर बहादुर पुनले प्रशासनिक र विकासमुखी कार्यहरू थप गतिमा बढेको बताउनुभयो ।
समयमै योजना सम्पन्न गर्नको लागि आवश्यक रणनीति अवलम्बन गरिरहेको बताउदै उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग गरेर पालिकाका हरेक कामलाई छरितो तथा पारदर्शी रूपमा जतिसक्दो छिटो सेवा प्रवाह गरी जनतालाई स्थानीय सरकारको अनुभूति दिलाउने गरी कार्यसम्पादन गरेको उहाको भनाइ छ।
समयमै काम सम्पन्न गर्दा विकासको गति अझै बढ्ने र आयोजनाहरू गुणस्तरीय रूपमा सम्पन्न हुने विश्वास पालिकाले लिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत पुनले चालु आर्थिक वर्षका लागि छुट्याइएका एक सय ८१ वटा योजनाहरूमध्ये हालसम्म ५६ वटा योजनाहरू सम्पन्न भइसकेको बताउनुभयो। बाकि केहि योजनाहरू सम्झौता भई निर्माणको चरणमा छन् । भने केही ठेक्का योजनाहरू सम्झौताको चरणमा छन् । वडास्तरमा भएका एकीकृत घुम्ती सेवा लगायतका कार्यक्रमहरू पनि सम्पन्न गरिसकेको छ । उपभोक्ता समिति र टेन्डर प्रक्रियाबाट हुने योजनाहरू सुरु भइसकेकोले सकेको छिटो निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताउनुभयो ।
गाउँपालिकाका लेखा अधिकृत पोस्टराज न्यौपानेका अनुसार चालु आर्थिक वर्षका लागि कुल ६१ करोड ६९ लाख रुपैयाँको बजेट विनियोजन गरिएको छ । जसमध्ये हालसम्म ३७ प्रतिशत वित्तीय प्रगति भइसकेको छ । लेखा अधिकृत न्यौपानेले योजनाहरूको पारदर्शिता र गुणस्तरीय काम गर्न पाँच लाखभन्दा माथिका योजनाहरू ई–बिडिङ मार्फत ठेक्का प्रक्रियाबाट अगाडि बढाइएको बताउनुभयो ।
चालु आर्थिक वर्षमा कुल एक करोड ३८ लाख रुपैयाँ आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा हालसम्म ३० लाख रुपैयाँ संकलन भइसकेको प्रमुख प्रशासकीय अधिकृत पुनले बताउनुभयो । पालिकाको आफ्नो आन्तरिक आम्दानी स्रोत न्यून रहेको कारण ठूला विकास निर्माण र दीर्घकालीन योजनाका लागि अझै पनि संघीय र प्रदेश सरकारको अनुदानमा निर्भर रहनुपर्ने बाध्यता रहेको गाउपालिकाका अध्यक्ष विष्णुप्रशाद भण्डारीले बताउनुभयो । आन्तरिक आम्दानी वृद्धि गरी आत्मनिर्भरतातर्फ उन्मुख हुन पालिकाले सम्भाव्य क्षेत्रहरूको खोजी गरिरहेको समेत उहाको भनाइ छ ।







