पाल्पा-फागुन २१ गते हुन गइरहेको प्रतिनिधीसभा निर्वाचनको लागी पाल्पा क्षेत्र नंं २ का नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार एवं पुर्व उधोगमन्त्री सोम प्रसाद पाण्डेले दोभानको सिद्धवावा बाट चुनावी प्रचार प्रसार अभियानको थालनी गर्नुभएको छ । तिनाउँ गाउँपालिकाको वडा नं. ३ सिद्धवावा सुरुङ मार्ग प्रवेश द्धारमा पत्रकार सम्मेलन गरी पुर्वमन्त्री पाण्डेले चुनावी प्रचार अभियानमा लाग्नुभएको हो ।
उम्मेदवार पाण्डेले २०२६ साल देखी २०७८ साल सम्म आईपुग्दा सिद्धवावा क्षेत्रमा ९ सय ७२ जना व्यक्तिको अकालमा ज्यान गुमेको साथै जोखिमपूर्ण यात्रालाई मध्यनजर गर्दै सिद्धवावा क्षेत्रको सडकलाई सुरक्षित बनाउन, सुरुङ्ग मार्ग एकमात्र विकल्प भएकोले निरन्तर रुपमा दवाव दिदै आएको कारण आज सिद्धवावा सुरुङ्ग मार्ग बन्न सफल भएको बताउनुभयो। बिगतमा सिद्धवावा सुरुङ्ग मार्ग निर्माणको लागी तत्काल रकम सुनिश्चित नभए सिद्धवावा क्षेत्रमै अनशन बस्ने घोषणा गरेपछि बाध्य भएर तत्कालीन अर्थमन्त्री युवराज खतीवडाले १० अर्व रुपैया बजेट सुनिश्चितता गरी सुरुङ्ग मार्ग निर्माण कार्यको थालनि भएको नेकपाका उम्मेदवार पाण्डेले दावी गर्नुभयो ।
सिद्धवावा सुरुङ्ग मार्ग निर्माणको लागी स्विस सरकारबाट सर्भे तथा डिपिआर निर्माण देखी बजेट सुनिश्चितताको लागी २०७४ देखी ७९ सम्मको कार्यकालमा आफ्नो महत्वपुर्ण भुमिका रहेको नेकपाका उम्मेदवार पाण्डेले बताउनुभयो । पाल्पामा अरु कुनै स्वार्थ छैन, मलाई कुनै पैसा कमाउनु परेको छैन, अझै पाल्पाली जनताको सेवा गर्ने, आफ्ना विगतका अधुरा योजना पुरा गर्ने, दुःखमा परेका पाल्पालीहरुको सेवा गर्ने, पाल्पाको विकास निर्माणमा योगदान गर्ने उदेश्यका साथ पाल्पा क्षेत्र नंं २ मा नेकपा बाट उम्मेदवारी दिएको पाण्डेले बताउनुभयो । २०७९ सालको निर्वाचनमा पराजय भोगेपनि पाल्पाको विकास निर्माण, योजना तथा बजेट ल्याउनमा ठुलो भुमिका खेलेको, दुःख परेका अधिकाश पाल्पालीको घर घरमा पुगेको, चुनावमा पराजय भएपनि जनताको बिकासे कार्यमा कटिवद्ध भएर लागेको पाण्डेले बताउनुभयो ।
नेकपालाई मतदान गरी आफुलाई विजय बनाउन पाल्पा क्षेत्र नं. २ का जनता संग पाण्डेले अनुरोध गर्दै संसद, देखी सरकार सम्म, गाउँ देखी शहर सम्म, झुपडी देखी महल सम्मको अनुभव आफुमा रहेको, कानुन निर्माण देखी सरकार चलाउने सम्म अनुभव भएकोले, भदौ २३ र २४ मा जेनजीहरुले गरेको आन्दोलनको भावनालाई समेत पुरा गर्नको लागी पाल्पा क्षेत्र नंं २ मा नेकपाको तारा चिन्हमा मतदान गर्न उम्मेदवार पाण्डेले जनता संग आग्रह गर्नुभयो ।
मुलुक अहिले संकटमा रहेकोले, निकास र विकासको लागी राजनितिक दलहरु विचको सहमती, एकता र सहकार्यको लागी सक्रियता रहने उम्मेदवार पाण्डेले बताउनुभयो । चुनावी प्रचार प्रसार पत्रकार भेटघाट कार्यक्रममा नेकपा पाल्पाका अध्यक्ष अशोक कुमार शाही, केन्द्रिय सदस्य यादव बहादुर रायमाझी, समानुपातिक सांसद पार्वती विक सहित स्थानीयवासी, पत्रकार एवं पार्टीका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।







