माघ ९ बुटवल - रुपन्देहीको बुटवलमा रहेको एभरेस्ट इङ्लिस माविमा अक्षरारम्भ तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार परेको श्रीपञ्चमी तथा सरस्वतीको अवसरमा एभरेस्ट माविले अक्षरारम्भ तथा पुरस्कार वितरण कार्यक्रम गरेको हो । विद्यालयले गत वर्षको परीक्षा तथा अतिरिक्त कृयाकलापमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो भने उत्कृष्ट विषय शिक्षक तथा दीर्घसेवा सम्मानबाट कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।
विद्यालय संचालक समितिका अध्यक्ष गमप्रसाद रेश्मीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थी, शिक्षक÷कर्मचारी र विद्यार्थीहरुलाई पुरस्कृत तथा सम्मान गर्दै जिल्ला शिक्षा समन्वय इकाई रुपन्देहीका प्रमुख विष्णुप्रसाद पन्थीले शैक्षिक उत्कृष्टता हासिल गरि पुरस्कृत र सम्मान प्राप्त गर्ने शिक्षक विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिनुभयो । उहाँले शिक्षक विद्यार्थीहरुलाई प्रदान गरिने पुरस्कार तथा सम्मानले उनीहरुलाई थप हौसला मिल्ने उल्लेख गर्दै पुरस्कृतहरुलाई अझै लगन र मेहनत गर्न सुझाव दिनुभयो । उहाँले निजी क्षेत्रबाट संचालित शैक्षिक संस्थाहरुले ठुलो शैक्षिक जनशक्ति उत्पादन गरेको बताउँदै निजी शैक्षिक संस्थाको विकासमा सरकार अझै गम्भिर बन्न आग्रह गर्नुभयो ।
विद्यालयका प्राचार्य कृष्ण न्यौपानेको स्वागतमा भएको कार्यक्रममा बुटवल वडानम्बर ८ का वडाध्यक्ष यज्ञप्रसाद पंगेनी, प्रदेश परिक्षा ब्यवस्थापन कार्यालयका शाखा अधिकृत झविलाल विक, जिल्ला शिक्षा समन्वय इकाईका शाखा अधिकृत अमरबहादुर केसी, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, शिक्षक पोषणकुमार आचार्यलगायतले पुरस्कार तथा सम्मान पाउने शिक्षक तथा विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिनु भएको थियो ।
शिक्षक सरस्वती पाण्डे (सरु) को संचालनमा भएको कार्यक्रममा गत शैक्षिक सत्र २०८१ सालमा विभिन्न कक्षामा प्रथम, द्वितीय, तृतीय साथै विभिन्न विधाका प्रवेश परीक्षामा आफूलाई अग्र स्थानमा राख्न सफल विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । यसैगरी कक्षा १२ को बोर्ड परीक्षा, प्रवेशिका परीक्षा तथा आधारभूत तह परीक्षामा सम्मिलित मध्ये ३.९ र सो भन्दा माथिको जिपीए हासिल गर्ने विद्यार्थीहरु र विद्यालयमा १० वर्ष र २० बर्ष कार्यकाल पूरा गरेका शिक्षक तथा कर्मचारीहरुलाई नगद तथा सम्मानपत्रल सम्मान गरिएको विद्यालयका सहप्राचार्य भिमसेन गौतमले जानकारी दिनुभयो ।







