राष्ट्रिय न्युज पाल्पा - रामपुर-१० बर्दलेबाट बेझाँडतर्फ आउँदै गरेको लु ७८ प २८०७ नम्बर मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर नगरपालिका-७ मझुवाका ६४ वर्षीय श्यामबहादुर सेन ठकुरी रहेको प्रहरीले जनाएको छ ।
बिहीबार बेलुकी ६ बजेतिर कालीगण्डकी करिडोर हुँदै रामपुर-१० बर्दलेबाट बेझाँडतर्फ आउँदै गरेको मोटरसाइकलले कालीगण्डकी करिडोर रामपुर - ६ कालिआपमा पैदल यात्री रामपुर ७ मझुवाका ६४ वर्षका श्याम बहादुर सेनठकुरीलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते हुनुभएका सेनलाई उद्धार गरी रामपुर अस्पताल ल्याएर उपचार गर्ने क्रममा उहाँकाे साढे सात बजे निधन भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लाल बहादुर सुनारले जानकारी दिनुभयो ।
सेन ठकुरीलाई ठक्कर दिएपछि मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालक रामपुर नगरपालिका–६ तिलकपुर बस्ने २३ वर्षीय हिमाल राना र २१ वर्षीय मेघबहादुर खन्गाहा घाइते भएका थिए । रानालाई थप उपचार गर्न तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभास रेफर गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको समेत प्रहरिले जनाएको छ।













