राष्ट्रिय न्युज -पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका–८ बराङ्दीस्थित न्यौपानेडाँडामा रहेको एक गोठमा बिहीबार राति आगलागी भएको छ।
प्रहरीका अनुसार स्थानीय प्रेम प्रसाद न्यौपानेको कर्कट पाताको छानो र इँटाको गारो भएको गोठमा राति करिब ११:४० बजेतिर आगो लागेको हो।
आगलागीका कारण गोठ पूर्णरूपमा ध्वस्त भएको गाप्टुङ्ग प्रहरी चौकीका बरिष्ठ हवल्दार कृष्णबहादुर भण्डारीले जानकारी दिनुभयो। आगलागीमा परेर १ लैनो भैँसी, १ पाडी र १ वटा बोका जलेर मरेका छन्। साथै गोठभित्र राखिएको घाँस, दाउरा लगायतका सामग्री पनि पूर्णरूपमा जलेर नष्ट भएका छन्।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार विद्युत सर्ट भएर आगलागी भएको खुलेको छ। प्रहरी र स्थानीयवासीको सहयोगमा करिब १ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो। आगलागीबाट करिब ५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको अनुमान छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











