पुष २२ राष्ट्रिय न्युज - पाल्पा जिल्लाको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको भैरवस्थान मन्दिर विगत १८ महिनादेखि व्यवस्थापन समिति बिना सञ्चालन हुँदै आएको छ। दलीय सहमति नजुट्दा पटक–पटक भएका छलफल र वार्ता निष्कर्षमा पुग्न नसकेपछि समिति गठन हुन सकेको छैन।
समिति नहुँदा मन्दिरको नियमित व्यवस्थापन, संरक्षण, आर्थिक सञ्चालन र दीर्घकालीन योजना प्रभावित बनेका छन्। यस अवस्थालाई लिएर स्थानीयवासी तथा भक्तजनहरूबाट धार्मिक आस्थामाथि राजनीतिक हस्तक्षेप भएको भन्दै आलोचना बढ्दै गएको छ।
यस विषयमा जिल्ला प्रशासन कार्यालय पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदी ले भन्नुभयो
मन्दिर व्यवस्थापन समिति गठनका लागि प्रशासनको तर्फबाट समन्वय प्रयास गरिएको हो। तर सरोकारवाला पक्षहरूबीच सहमति नजुट्दा प्रक्रिया अघि बढ्न सकेको छैन। समाधानका लागि संवाद जारी छ।
त्यसैगरी, गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले पटक पटक छलफल भए पनि निष्कर्ष ननिस्किएको स्वीकार गर्नुभयो
“हामीले विभिन्न चरणमा वार्ता गर्यौँ। तर दलगत अडानका कारण सहमति बन्न सकेन। मन्दिर कुनै व्यक्ति वा दलको होइन, सम्पूर्ण समुदायको साझा सम्पत्ति हो।”
जिल्ला मालपोत कार्यालय पाल्पाका प्रमुख दुर्गा खनालले धार्मिक संस्थामा देखिएको यस्तो अन्योल चिन्ताजनक रहेको बताउँदै भन्नुभयो ।धार्मिक संस्थाको व्यवस्थापन विषय लामो समयसम्म टुंगो नलाग्नु राम्रो संकेत होइन। सरोकारवाला सबै पक्ष जिम्मेवार भएर छिटो समाधान खोज्नुपर्छ।
यसैबीच, गुठी संस्थानका कानुनी उपसचिव जनक पोखरेल ले स्पष्ट पार्दै भन्नुभयो मठ–मन्दिरमा राजनीति गर्न नहुने हो। गुठी संस्थानले व्यक्ति टिकाएर समिति बनाउनु उपयुक्त हुँदैन। आम भेलाले नै उपयुक्त व्यक्ति चयन गरेर समिति बनाउनुपर्छ। यस प्रकारका विषयमा संवेदनशील र आर्थिक चलखेलमुक्त दृष्टिकोण आवश्यक छ। यो बिषयमा गुठी सस्थान स्पष्ट रहेको जिकिर गर्नुभयो ।
लामो समयदेखि मन्दिरको दैनिक व्यवस्थापन सम्हाल्दै आउनु भएका मन्दिर व्यवस्थापक मीनबहादुर बुढाथोकी का अनुसार समिति नहुँदा व्यवहारिक समस्या दिनप्रतिदिन बढ्दै गएका छन्।
निर्णय गर्ने आधिकारिक समिति नहुँदा मर्मत, खर्च र व्यवस्थापनमा समस्या भइरहेको छ। दैनिक पूजा र सामान्य व्यवस्थापन त चलाइरहेका छौँ, तर दीर्घकालीन निर्णय गर्न कठिन भएको छ।
स्थानीयवासीहरूले दलीय असहमतिकै कारण मन्दिर लामो समयसम्म नेतृत्वविहीन बनेको भन्दै तत्काल सर्वदलीय सहमतिमा व्यवस्थापन समिति गठन गर्न माग गरेका छन्।
१८ महिनादेखि समिति विहीन अवस्थामा रहेको भैरवस्थान मन्दिरको अवस्था अब स्थानीय तहको विषय मात्र नभई जिल्ला हुँदै राष्ट्रिय चासोको विषय बन्दै गएको छ।













