राष्ट्रिय न्युज बासुदेव ढकाल रामपुर,पाल्पा रामपुर नगरपालिकाले नगर सभाको १८ औँ अधिवेशन आइतबार सम्पन्न गरेको छ । विभिन्न योजनाको बजेट रकमान्तर तथा शीर्षकान्तर सहित दुई वटा ऐन जारी गर्दै सम्पन्न भएको हिउँदे सभाले वडा तथा नगर स्तरीय ८० वटा योजना तथा कार्यक्रमको बजेट रकमान्तर तथा शिर्षकान्तर गरेको हो ।
रामपुर नगरपालिका उपप्रमुख बाल कुमारी थापाले प्रस्तुत गर्नु भएको योजनाहरुको रकमान्तर र शिर्षकान्तर प्रस्ताव सर्वसम्मत रुपमा नगर सभाले पारित गरेको हो ।
नमस्ते पाल्पा होटलको सभाहलमा भएको सभामा नगर सभाका सदस्य तथा विद्येयक समितिका संयोजक मिन बहादुर सिंजालीले प्रस्तुत गर्नु आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०८२
विद्येयक सदस्य विष्णु माया गैरेले प्रस्तुत गर्नु भएको रामपुर नगरपालिका पर्यटन विकास विधेयकहरु सर्वसम्मत रुपमा पारित गरेको छ ।
नगर सभा सदस्यहरुले उठाएको प्रश्न र प्रस्ताव बारे प्रष्ट पार्दै सभाध्यक्ष एवं नगर प्रमुख रमण बहादुर थापाले विकास संगै नगरको पहिचानका लागि नगरपालिकाले गरेका कार्य गौरवको रुपमा रहेको बताउनुभयो । प्रमुख थापाले रामपुर नगरपालिकाले सुरुवात गरेको असल अभ्यास संघ र प्रदेशले पनि सुरुवात गर्नु खुशीको कुरा भएको बताउदै नगरपालिकाले खर रहितको घर, युवा स्वरोजगार, ढल रहित शहर, कालीगण्डकी पैदल मार्ग निर्माण, नगर गौशाला निर्माण, उज्यलो शहर घोषणा लगाएतका महत्वपूर्ण कार्य गर्दै आएको बताउनुभयो । उहाँले बालबालिका र जेष्ठ नागरिकको सुरक्षाका लागि रामपुर नगरपालिकाले आवश्यक कार्यक्रम सञ्चालन गर्दैै आएको बताउनुभयो ।
जनताको चाहाना अनुसार स्रोत साधनले भ्याए सम्म विकास र सेवालाई प्राथमिकता दिदै आएको जनप्रतिनिधि र कर्मचारीहरु जनतालाई सहज रुपमा सहज रुपमा सेवा प्रवाह गर्न कसरी सकिन्छ भन्ने ध्येयका साथ लागि रहेको समेत थापाले बताउनुभयो ।
नगर उपप्रमुख बालकुमारी थापाले नगरको चालु आर्थिक वर्षको कुल बजेट ८१ करोड १३ लाख ६६ हजार ६२१ रुपैयाँ मध्ये अधिवेशनले वडा तथा नगर स्तरीय ८० वटा योजना तथा कार्यक्रमको दुई करोड पाँच लाख ११ हजार शीर्षकान्तर तथा रकमान्तर गरिएको बताउनुभयो ।
रामपुर नगरपालिका १ का वडा अध्यक्ष एवं प्रवक्ता कपिल बहादुर खाँणले सभामा धन्यवाद ज्ञापन गर्नु हुँदै देश वर्तमान अवस्था सम्म ल्याउनका लागि दलहरुको भुमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले जनप्रतिनिधिहरु स्थानीय तहलाई प्राप्त २२ वटा एकल अधिकार र १५ वटा साझा अधिकार कार्यान्वयनमा कति जिम्मेवार भएर लाग्यौं , नगरबासीले के अनुभूति गरे भन्ने विषयमा समिक्षा गरी अघि बढ्नु पर्नेमा जोड दिनुभयो । रामपुर नगरपालिकाका कार्यपालिका सदस्य दुर्गा देवी भण्डारी गौतमले योजना कार्यान्वयनमा सबैको साथ सहयोग आवश्यक रहेको बताउनुभयो । रामपुर नगरपालिका–३ का वडा अध्यक्ष दामोदर पाठक विकृति र विसंगति विरुद्ध एकजुट भएर लाग्नु पर्ने बताउनुभयो । शुन्य समयमा आफ्नो धारणा राख्दै वडा नं. १० का वडा अध्यक्ष तोयानाथ सारु थापाले नगरपालिकाले सञ्चालन गरेका राम्रो योजनालाई निरन्तरता दिदै बाँकी कार्यलाई पनि समेटेर अघि बढ्नु पर्ने बताउनुभयो ।उहाँले नगरपालिकाले विवाह पञ्चमीको अवसरमा आयोजना गरेको रामसीता विवाह महोत्सव, जेष्ठ नागरिक स्कुल सञ्चालन लगाएतका कार्य निकै गर्वको विषय रहेको , खानेपानीको मुहान एकितृत गर्ने, वडा पहुँच मार्ग तथा आमा भवन निर्माणको विषयमा ध्यानाकर्षण गराउनु भएको थियो ।
शुन्य समयमा रामपुर ४ का वडा सदस्य मोहम्मद अजिम शेख, वडा नं. ६ का वडा सदस्य हरिनाथ ढुङ्गानाले सडक तथा विकासका पूर्वाधारको बारेमा आवाज उठाउनु भएको थियो । विशेष समयमा रामपुर ७ का वडा अध्यक्ष दोवराज तिवारीले फोहोर व्यवस्थापनको विषयमा अब नगरपालिकाले विशेष ध्यान दिनु आवश्यक रहेको बताउनुभयो
। साथै वडा नं. ६ का वडा सदस्य हरिनाथ ढुङ्गानाले बुल्टारलाई नगरको क्रिकेट मैदानको रुपमा विकास गर्न आग्रह गर्नु भएको थियो । रामपुर–४ का वडा सदस्य मोहन सिं रानाले विदेश अध्ययनका लागि जाने विद्यार्थीहरुको लागि राजस्वमा सहुलियत प्रदान गर्नु पर्ने बताएका थिए । सभामा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले नगर सभाको आब्ह्वान पत्र बारे जानकारी गराउनु भएको थियो । सभाको सहजिकरण योजना शाखा प्रमुख विक्रम बस्नेतले गर्नु भएको थियो ।













