राष्ट्रिय न्युज पाल्पा- नेपाल पत्रकार महासंघ पाल्पा शाखाले ३४ औ स्थापना दिवस मनाएको छ । २०४९ साल पुस १९ गते मेघराज शर्माको सभापतित्वमा २० सदस्यहरु बिस्तार गर्दै स्थापना भएको शाखाले शनिबार स्थापना दिवस मनाएको हो ।
स्थापना दिवसमा प्रमुख अतिथी पत्रकार महासंघ पाल्पाका संस्थापक अध्यक्ष, बरिष्ठ पत्रकार, प्रेस स्वतन्त्रता सेनानी मेघराज शर्माले मिडियाहाउस र पत्रकारको अवस्था दिनहुँ संकट , दयनीय सरकार, राजनितिक दल, नागरिक समाजले मिडिया र पत्रकारलाई दोषरोपण गर्ने , पत्रकार सुरक्षा भाषणमा सिमित गर्ने, वेवास्तापन गर्ने प्रबृत्तिको कारण सञ्चार माध्यमका पत्रकार संकट तथा पलायन रहेको बताउनुभयो। उहाँले २०४९ साल देखी नै जिल्लामा समानुपातिक विज्ञापन लागु गर्न दवाव दिदै आए पनि हालसम्म कार्यान्वयन नभएको साथै समानुपातिक विज्ञापन वितरण भए मात्र जिल्लामा सञ्चालनमा रहेका मिडियाहरु दिगो रुपमा सञ्चालन हुने, पत्रकारको पलायनमा कमि हुने बताउनुभयो ।
शर्माले छलफल ,अन्तरक्रिया र सुझाव पाल्पाको पत्रकारिता स्वच्छ, निष्पक्ष, बस्तुनिष्ठ बनाउन महासंघ प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा विशिष्ट अतिथी
लुम्बिनी प्रदेस सभा सदस्य एवं पुर्व मन्त्री विर बहादुर रानाले मुलुक भयावह अवस्थामा गुज्रिरहेकाले पत्रकारहरु व्यक्तिगत स्वार्थ र दलिय आस्था भन्दा माथी उठेर, दलहरुका गलत क्रियाकलापहरुलाई जनताबिच सार्वजनिक गरेर कलम चलाउनु पर्नेमा जोड दिनुभयो । पुर्व मन्त्री रानाले वर्तमान अवस्थामा नेता, नेतृत्व र कर्मचारीप्रति जनताको वितृष्णा बढेकाले भदौ २३ र २४ गते घटनाबाट सबै पक्षले आ–आफ्ना कमीकमजोर सच्चाएर मुलुक निर्माणमा योगदान गर्नुपर्नेमा जोड दिनुभयो। स्थापना दिवसमा पत्रकार महासंघ पाल्पाले आफ्नो संस्था, संस्थासँग जोडिएका व्यक्तिहरुको विगत देखी वर्तमान र भविष्यको बारेमा निर्मम समिक्षा गरेर भएका कमिकमजोरीहरुलाई सच्चाएर जानुपर्ने बताउनुभयो ।
पूर्व सांसद तथा नेपाली कम्युनिष्ट पार्टीका नेता यादवबहादुर रायमाझीले अहिले सूचनाहरुअन्तर्गत सामाजिक सञ्जालहरुबाट पाउने सूचनाहरु सहि गलत छुट्टाउन जनतालाई कठिन हुँदै आइरहेको साथै जनता गलत सूचनाको बाढीमा फसेको बताउनुभयो । यस्ता गलत सूचनाहरुलाई रोक्न पत्रकारहरुको महत्त्वपूर्ण भुमिका हुनेमा पुर्व सांसद रायमाझीले जोड दिनुभयो। स्थापना दिवस कार्यक्रममा महासंघका पुर्व अध्यक्षहरु गोविन्द भट्टराई, झपेन्द्र गहिरेले पत्रकार महासंघ स्थापनाकाल देखी हालसम्म आउँदा सम्मको यात्रा , चुनौती, अवसर, सहकार्य र समाजिक विकासमा खेलेको भुमिकाको बारेमा चर्चा गर्नुभयो ।
कार्यक्रममा पत्रकार महासंघका पूर्व अध्यक्ष भगवान भण्डारीले जनप्रतिनिधीविहिनको अवस्थादेखी सरकार र तत्कालीन विद्रोही माओवादीको समयमा दुवैपक्षलाई मानवअधिकार रक्षाको लागि खेलेको भुमिका, जिल्लाको विकास निर्माणमा राजनितिक दल, निजी संघ संस्था तथा सरकारी निकाय बिच समन्वय गरी गरेका कामहरुको बारेमा चर्चा गर्नुभयो।
पत्रकार महासंघका पुर्व अध्यक्ष राजेश कुमार अर्यालले पत्रकारिताको विगतको अवस्था, वर्तमान अवस्थामा सामाजिक सञ्जालले पारेको असर, भोलिका दिनमा एआई ले पार्ने प्रभावको बारेमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका सह संयोजक सुमन गैरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर अध्यक्ष रमेश विरजंग राणा, तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदी दर्लामी, माथागढी गाउँपालिका अध्यक्ष यम बहादुर चिदी, निमित्त प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदी, पत्रकार महासंघका सल्लाहकार कृष्ण दर्नाल, सस्थापक सचिव भरत शर्मा, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, पाल्पा व्यापार संघका अध्यक्ष विष्णु कार्की लगायतले पत्रकार महासंघको महासंघले खेलेको योगदान का बारेमा आफ्ना भनाइ राख्नुभएको थियो। पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाको अध्यक्षता, उपाध्यक्ष मुक्ति न्यौपानेको स्वागत, उपाध्यक्ष बन्दना पोखरेलको धन्यवाद ज्ञापन र सचिव रामचन्द्र रायमाझीको सञ्चालनमा कार्यक्रम सम्पन भएको हो ।













