राष्ट्रिय न्युज- तानसेन नगरपालिकाको आयोजनामा समुदायसँग न्यायिक समिति तथा मेलमिलाप सम्बन्धी वडा स्तरीय सचेतना कार्यक्रम वडा न ८ छाप मा सम्पन्न भएको छ।
कार्यक्रममा सबिता भट्टराईले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७(१) अनुसार न्यायिक समितिले निरुपण गर्न पाउने विवादहरूको जानकारी नागरिकसम्म पु¥याउनु कार्यक्रमको मुख्य लक्ष्य रहेको बताउनुभयो। उहाँले सामान्य घरेलु, सामाजिक तथा स्थानीय विवादहरू अदालतसम्म पुग्न नपरी स्थानीय तहमा नै समाधान गर्न सकिने व्यवस्था रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा प्रमुख अतिथि तानसेन नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिकी संयोजक प्रतीक्षा गाहा सिङ्जालीले कार्यक्रममा उठेका जिज्ञासाको जवाफ दिदै न्यायिक समितिमा उजुरी दिने प्रक्रिया, मेलमिलापकर्ताको भूमिका र समुदायको सहभागिताको महत्वबारे स्पष्ट पार्नुभयो। उहाँले स्थानीय स्तरमै विवाद समाधान गर्दा समय, खर्च र सामाजिक सम्बन्ध जोगिने बताउनुभयो। उहाले स्थानीय तहमा देखिने विवादहरूलाई सहमति, संवाद र मेलमिलापको माध्यमबाट समाधान गर्ने प्रक्रियाबारे नागरिकलाई सचेत गराउन यो कार्यक्रम आयोजना गरीएको बताउनुभयो कार्यक्रमका अध्यक्ष मेलमिलाप केन्द्रका संयोजक नुना दिसुवाले न्यायिक समितिको उद्देश्य नागरिकलाई न्याय पहुँचको नजिक पु¥याउनु रहेको बताउनुभयो। । समुदायको सक्रिय सहभागिताले मात्र मेलमिलाप प्रक्रिया प्रभावकारी हुने बताउँदै यस्ता सचेतना कार्यक्रमले समाजमा शान्ति र सद्भाव कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
तानसेन ८ का वडाध्यक्ष सोमनाथ अर्यालले साना–साना विवादले ठूलो समस्या निम्त्याउने भएकाले प्रारम्भिक चरणमै मेलमिलापमार्फत समाधान खोज्न सबैलाई आग्रह गर्नुभयो। यो कार्यक्रमले न्यायिक समिति र मेलमिलाप प्रक्रियाप्रति समुदायमा विश्वास बढाउने समेत बताउनुभयो । कार्यक्रममा सहभागीहरूले आफ्ना समस्या, जिज्ञासा तथा सुझाव राखेका थिए।
कार्यक्रमको संचालन न्यायिक समितिका सदस्य सचिव चिनाकुमारी न्यौपानेले गर्नुभएको थियो।













