राष्ट्रिय न्युज रामपुर- पाल्पाको रामपुर नगरपालिका–८ स्थित गङ्गा माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड अन्तर्गतको ISO लोगो प्राप्त गरेको छ।
विद्यालयमा आयोजित एक विशेष कार्यक्रममा ग्लोबल क्वालिटी काउन्सिलका कन्ट्री म्यानेजर एवं UAF–USA का नेपाल प्रतिनिधि सुदिप शर्माले विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरीबहादुर ज्ञवाली तथा विद्यालयका प्रधानाध्यापक देवराज देवकोटालाई औपचारिक रूपमा ISO लोगो हस्तान्तरण गर्नुभएको हो।
शिक्षण–सिकाइ प्रक्रिया, नेतृत्व र व्यवस्थापन, योजना प्रणाली, मानव स्रोत व्यवस्थापन, विद्यार्थी केन्द्रित शिक्षा, मूल्याङ्कन प्रणाली, अभिलेख तथा सूचना व्यवस्थापन, सरसफाइ, सुरक्षा, जोखिम व्यवस्थापन तथा निरन्तर सुधार प्रक्रिया समावेश गरि जम्मा ११ बुदामा 21001:2018 अन्तर्गतका मापदण्डअनुसार विद्यालयले प्रमुख मापदण्ड पूरा गरेपछि ISO लोगो प्राप्त गरेको हो।
ISO लोगो प्राप्त भएसँगै गङ्गा माध्यमिक विद्यालयले प्रशासनिक व्यवस्थापन, शैक्षिक गुणस्तर, सरसफाइ, सुरक्षा तथा सेवा प्रवाहमा अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको प्रमाणित भएको छ।
कार्यक्रमका प्रमुख अतिथि रामपुर नगरपालिका नगर प्रमुख रमणबहादुर थापाले ISO लोगो प्राप्त गर्नु गौरवको विषय भएको उल्लेख गर्दै नगरपालिकाबाट गुणस्तरीय शिक्षाका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नगर उपप्रमुख बालकुमारी थापाले विद्यालयले शिक्षा क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरेको भन्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजा दिने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरीबहादुर ज्ञवालीले ISO लोगो प्राप्तिले विद्यालयको शैक्षिक गुणस्तर अझ सुदृढ बनाउने र अभिभावक तथा समुदायको विश्वास बढाउने बताउनुभयो।
त्यसैगरी विद्यालयका प्रधानाध्यापक देवराज देवकोटाले ISO लोगो केवल औपचारिक मान्यता मात्र नभई विद्यालयलाई निरन्तर सुधार, पारदर्शिता र गुणस्तरीय शिक्षातर्फ अग्रसर गराउने महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा प्रधानाध्यापकलाई ISO लोगो हस्तान्तरण गर्दै ग्लोबल क्वालिटी काउन्सिलका कन्ट्री म्यानेजर सुदिप शर्माले ISO लोगोले विद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउनुका साथै सेवा प्रवाहलाई अझ व्यवस्थित गर्ने बताउनुभयो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक देवराज देवकोटाको स्वागत मन्तव्य , आधारभूत मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष कमलराज भट्टराईको शुभकामना मन्तव्य रहेको कार्यक्रममा
विद्यालयको तर्फबाट रामतुलसी नमुना माविका प्रधानाध्यापक बालकृष्ण लम्साल तथा विद्यार्थी शशी पराजुलीले आ–आफ्नो धारणा राख्नुभएको थियो।
कार्यक्रमको अन्त्यमा वडा अध्यक्ष एवं पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिनेश आचार्यले धन्यवाद ज्ञापन गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन शिक्षक बद्री घिमिरेले गर्नुभएको हो भने अध्यक्षता विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरी ज्ञवालीले गर्नुभएको थियो।
हाल गङ्गा माध्यमिक विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्ययन अध्यापन हुँदै आएको छ। विद्यालयमा ६ सय ५० जना विद्यार्थी अध्ययनरत छन्। यहाँ नेपाली माध्यमसँगै अङ्ग्रेजी माध्यममा समेत पढाइ हुने गर्दछ भने कक्षा ११ र १२ मा पशुविज्ञान विषय पनि सञ्चालनमा रहेको छ।
ISO लोगो प्राप्त गरेसँगै गङ्गा माध्यमिक विद्यालय रामपुर क्षेत्रकै गुणस्तरीय शिक्षाको उदाहरणीय विद्यालयका रूपमा अझ सशक्त रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।













