राष्ट्रिय न्युज - पाल्पा माथागढी गाउँपालिका–१ चिदीपानीका वडा अध्यक्ष राजकुमार पन्थी निर्वाचित भएयता वडामा भौतिक, सामाजिक तथा आर्थिक विकासका गतिविधिले उल्लेखनीय गति लिएको बताउनुभएको छ। वडा अध्यक्ष पन्थीले पदभार सम्हालेसँगै सडक, विद्युत्, खानेपानी, सिँचाइ, कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनलाई प्राथमिकतामा राखी योजनाबद्ध रूपमा काम अघि बढाएको बताउँनुहुन्छ।
उहाँले सडक पहुँचमा व्यापक सुधार
वडाभित्र सडक पहुँच विस्तारलाई मुख्य प्राथमिकतामा राख्दै अगाखोला–चिदीपानी–यामकुना–फेदी–झडेवा, बिरौटा–धैरेनी–रुमलडाँडा–बिहादी–अगाहाखोला र जाउपोखरा–बुढीकोट–बधवारी सडकको स्तरोन्नति गरी बस सञ्चालन योग्य बनाइएको बताउनुभयो । यसका साथै पन्थीका अनुसार दोहोरा–बाहाखोक–भुटुके–खुमडाँडा सडक पनि सुधार गरिएको छ।
सडकसँगै पुल र कल्भर्ट निर्माणमा , बधवारी पक्की पुल, फेदी तिनाउ खोला बक्स कल्भर्ट, फेदी भिखोक खोला पुल, दोहोरा ट्रस्ट पुल, बाहाखोक खोला बक्स कल्भर्ट र अगाहाखोला ट्रस्ट पुल निर्माण भई सञ्चालनमा आएको र चालु आर्थिक वर्षमा अगाहाखोला पुल, माडी चक्रपथ तथा बिरौटा–धैरेनी–रुमलडाँडा–बिहादी मो–वा सडक का कामहरू अघि बढाइने छ।
उज्यालो वडा अभियानका रुपमा
वडालाई उज्यालो बनाउन १४० वटा काठका पोलमध्ये ८० वटा आइरन पोलले विस्थापन गरिएको छ। स्यारखोक फेदीमा ट्रान्सफर्मरसहित हाइटेन्सन लाइन, ढकालकुनादेखि दोहोरा सोलेसम्म नयाँ लाइन विस्तार गरिएको छ। विद्युत् सेवा नपुगेका चिसापानी, स्यारखोक, अर्पिडाँडा र कुनाबारी क्षेत्रका छुटेका बस्तीमा समेत बत्ती पुर्याउने काम अन्तिम चरणमा पुगेको छ।
सिँचाइ र खोला व्यवस्थापन
सिँचाइ अभाव न्यूनीकरणका लागि सेराटारी सिँचाइ योजना, छबिसे कुलो, कुनाबारी सिँचाइ कुलो, आमटारी–आल्मे भाटी कुलो निर्माण गरिएको छ भने केही योजना विस्तारको क्रममा छन्। विभिन्न ठाउँमा स्यालो ट्युबवेल जडान गरिएको छ। त्यसैगरी, तिनाउ खोला व्यवस्थापन करिब २ करोड रुपैयाँको लागतमा भइरहेको छ। खोलाले क्षति पुर्याएका स्थानमा थप जोखिम न्यूनीकरणका काम पनि गरिने छ।
कृषि र पशुपालनमा प्रोत्साहन
कृषि तथा पशुपालनलाई आत्मनिर्भर बनाउने उद्देश्यले तरकारी पकेट क्षेत्र, उत्पादनमा आधारित अनुदान, टमाटर खेतीका लागि पूर्ण अनुदानमा टनेल, बंगुर, बाख्रा र खोर निर्माण भकारा सुधारमा ५० प्रतिशतसम्म अनुदान व्यवस्था मौरी पालन व्यवसाय गर्न मौरीको घार हस्तान्तरण गरिएको छ।
चिदीपानीको उत्तरी भेगमा सुन्तला–कागती र दक्षिण भेगमा आँप–लिची पकेट क्षेत्र विकास कार्यक्रम सञ्चालनमा छन्।
खानेपानी र खापा व्यवस्थापन
वडाका करिब ८० प्रतिशत घरधुरीमा खानेपानी सेवा पुगेको छ। चालु वर्ष जाउपोखरा र धैरेनी क्षेत्रमा शुद्ध खानेपानी पुर्याउने लक्ष्य राखिएको छ।अलैचिगैरा लिफ्ट खानेपानी उपभोक्त समितिलाई हस्तान्तरण
बुढीकोट, भुटुके, खुमडाँडा, बाहाखोक, अर्पिडाँडा, दोहोरा लगायतका क्षेत्रमा सम्पन्न खापाहरू हस्तान्तरणको तयारीमा छन्। साथै माडी बृहत खापा र चिदीपानी बृहत खापा अन्तर्गत ढाक्रेबास, सित्तलचिलाउने, बधवारी, बाजबारी, धनबादी र अगाखोला क्षेत्रमा खापा व्यवस्थापन गर्ने योजना अघि बढाइएको छ।
शिक्षा र स्वास्थ्यमा सुधार
शिक्षा क्षेत्रमा ६ विद्यालयका शिक्षकलाई उत्प्रेरणा तालिम, विद्यालय घेराबार, टाइलिङ तथा भवन सुधार गरिएको छ। मर्जको अवस्थामा पुगेको ज्ञानोदय आधारभूत विद्यालय नयाँ स्थानमा सारेर चार–चार कोठे पक्की भवन निर्माण गरिएको छ। शिक्षक दरबन्दी २ बाट ९ पुर्याई विद्यार्थी संख्या ५ बाट करिब २०० पुगेको छ। थप भवनका लागि प्रदेश सरकारबाट २० लाख बजेट सुनिश्चित गरिएको छ।
पाल्पाको एक मात्र इलेक्ट्रिकल इन्जिनियरिङ पढाइ हुने सौग्य माध्यमिक विद्यालयमा कम्प्युटर ल्याब र छात्रावास व्यवस्थापन गरिएको छ। थप संरचनाका लागि भारतीय दूतावाससँग पहल भइरहेको छ।
स्वास्थ्यतर्फ धैरेनी सामुदायिक स्वास्थ्य इकाइ, बुढीकोट र अर्पिडाँडामा गाउँघर क्लिनिक, जेष्ठ नागरिकलाई घरमै उपचार, औषधि र ल्याब सेवा विस्तार गरिएको छ।
पर्यटन विकासको पहल
धैरेनी गाउँमा मगर होमस्टे, खागुचे गुफा प्रवर्द्धन, बाजबारीडाँडा, चौरेपोखरा, बुढीकोट र धैरेनी समेटिएको संयुक्त पर्यटन विकास कार्यक्रम अघि बढाइएको छ। विकासका काममा पारदर्शिता, जनसहभागिता र दिगोपन लाई मुख्य आधार बनाइएको छ। आगामी दिनमा वडालाई नमुना बनाउने लक्ष्य रहेको, स्थानीयवासीहरूले हालसम्म भएका विकासप्रति सन्तोष व्यक्त गर्दै निरन्तर प्रगतिको अपेक्षा गरिएको छ।













