राष्ट्रिय न्युज- पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा छैटौं पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता रैनादेवि ५ कटौजेपानीमा संचालन भएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विवेक रणपालले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नभई पालिकाको प्रशासनिक दक्षता, समन्वय र अनुशासनको प्रतिविम्बका रूपमा लिनुपर्नेमा जोड दिनुभयो। रणपालले समयपालन, निष्पक्ष निर्णय, सुरक्षाको व्यवस्था र मर्यादित सञ्चालन नै स्थानीय सरकारको वास्तविक पहिचान रहेको बताउनुभयो ।
कार्यक्रमको औपचारिक उद्द्घाटन गर्दै गाउँपालिका अध्यक्ष रुकमांगत भट्टराईले खेलकुदलाई केवल पदक जित्ने प्रतिस्पर्धामा सीमित नगर्न आग्रह गर्दै अनुशासन, संघर्ष र आत्मविश्वास निर्माणको पाठसालाका रूपमा लिनुपर्ने उल्लेख गर्नुभयो। उहाँले बिजय र पराजय खेलको स्वाभाविक पाटो हो। तर पराजयबाट सिक्ने क्षमता राख्न सक्ने खेलाडी नै भोलि सफल र जिम्मेवार नागरिक बन्नुका साथै अभ्यासले नै भोलि पालिकाको होइन,समग्र देशकै पहिचान बोकेका खेलाडी जन्माउन सक्ने बताउनुभयो । अध्यक्ष भट्टराईले राष्ट्रपति रनिङ शिल्डजस्ता प्रतियोगिताले ग्रामीण क्षेत्रका विद्यार्थीका लागि समान अवसर प्रदान हुने उल्लेख गर्दै खेलकुद विकासमा पालिकाको कार्यक्रम निरन्तरता रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। गाउँपालिका उपाध्यक्ष युवराज थापाले खेलकुदमा अनुशासन र मेहनत अनिवार्य रहेकोले अनुशासनविना प्रतिभा दीर्घकालीन रूपमा टिक्न नसक्ने साथै मैदानभित्र र बाहिर देखिने आचरणले नै खेलाडीको वास्तविक मूल्यांकन हुनेमा जोड दिनुभयो।
सामाजिक विकास समिति संयोजक तथा वडा नं. ३ का वडा अध्यक्ष प्रदिप पौडेलले राष्ट्रपति रनिङ शिल्डले विद्यालयस्तरमै स्वस्थ प्रतिस्पर्धाको संस्कार विकास गरेको बताउदै प्रतियोगिताले विद्यार्थीको शारीरिक तथा मानसिक विकाससँगै नेतृत्व क्षमता र विद्यालयको पहिचान विस्तारमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । गाउँपलिका स्तरका बिद्यालयका ३२४ जनाको सहभागी रहेको कार्यक्रममा प्रतियोगिताको पहिलो दिन भलिबल र कबडीका खेलहरू सम्पन्न भएका छन्। शिक्षा शाखा प्रमुख तेज कुमालले प्रतियोगिता पुस १६ गतेसम्म सञ्चालन हुने जानकारी दिनुभयो। प्रतियोगितामा वडाध्यक्ष, कार्यपालिका सदस्य, शिक्षक, विद्यार्थी, कर्मचारी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको छ।
राष्ट्रपति रनिङ शिल्डमार्फत स्थानीय तहमा खेलकुद विकाससँगै प्रशासनिक सुशासन, पारदर्शिता र समन्वय क्षमतालाई व्यवहारमा उतार्ने लक्ष्य लिइएको शिक्षा शाखा प्रमुख तेज कुमालले बताउनुभयो। कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विवेक रणपालको स्वागत मन्तव्य, सामाजिक विकास समिति संयोजक तथा वडा नं. ३ का वडा अध्यक्ष प्रदिप पौडेलको अध्यक्षता, र शिक्षा शाखा प्रमुख तेज कुमालको सञ्चालनमा कार्यक्रम संचालन भएको हो।













