राष्ट्रिय न्युज काठमाडौं - नेपाली राजनीतिमा ठूला दलहरूलाई चुनौती दिने वैकल्पिक धारले नयाँ मोड लिएको छ। ४८ घन्टासम्म चलेको अनवरत संवाद र छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्र राजनीतिक धारबीच बृहत् सम्झौता सार्वजनिक भएको छ। सहमतिसँगै भ्रष्टाचार र कुशासनविरुद्ध उठेको जनआन्दोलनलाई संस्थागत राजनीतिक रूप दिने घोषणा गरिएको छ।
सम्झौतामा आन्दोलनका क्रममा घाइते तथा शहीद भएका परिवारका मागहरूलाई राज्यले जिम्मेवारीपूर्वक सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै, समुन्नति र सामाजिक न्यायलाई केन्द्रमा राख्दै गहिरा नीतिगत, संस्थागत र संरचनात्मक सुधारमार्फत आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम–आय राष्ट्र बनाउने मार्गचित्र इमान्दारीपूर्वक कार्यान्वयन गर्ने उल्लेख छ।
सहमति अनुसार एकतापछि स्थापित दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहनेछ। पार्टीको झण्डा साविककै निलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र निलो घण्टी रहनेछ भने चुनाव चिन्ह ‘घण्टी’ नै कायम हुनेछ। केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने सहमति भएको छ।
राजनीतिक नेतृत्वको विषयमा पनि स्पष्ट खाका तय गरिएको छ। सम्झौताअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहनेछन् भने आसन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन्द्र शाह अघि सारिनेछ।
पार्टी संगठनलाई थप सक्षम र व्यापक बनाउने उद्देश्यसहित युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई समायोजन गरिनेछ। जिम्मेवारी बाँडफाँड गर्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई मुख्य आधार बनाइने सहमतिमा उल्लेख छ।
आसन्न आमनिर्वाचन लगत्तै यस सम्झौताअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी आवश्यक दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गरिने जनाइएको छ। साथै, लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दामा विश्वास गर्ने अन्य परिवर्तनकामी राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई समेत ‘घण्टी’ वरिपरि गोलबद्ध हुन आह्वान गरिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार यो सम्झौताले वैकल्पिक राजनीतिलाई नयाँ उचाइमा पुर्याउने मात्र होइन, स्थापित दलहरूको शक्ति सन्तुलनमा पनि गहिरो प्रभाव पार्न सक्ने संकेत देखिएको छ।













