माधव पाण्डे पाल्पा — पूर्वी पाल्पाको रम्भा गाउँपालिका–२, ब्रोमसे क्षेत्रभित्र एकछत्र रूपमा भलिबल खेलमा आफ्नो पहिचान बनाएका होनहार युवा खेलाडी याम आले आज स्वदेशमै अवसर नपाउँदा विदेशिन बाध्य भएका छन्।
विद्यालय तहबाट भलिबल यात्रा सुरु गरेका आलेले पालिका, जिल्ला हुँदै लुम्बिनी प्रदेश सम्म प्रतिस्पर्धात्मक भलिबल खेलेका छन्। उत्कृष्ट स्पाइक, मजबुत डिफेन्स र अलराउन्डर रूपमा खेल्न सक्ने क्षमताका कारण याम आलेलाई नचिन्ने र उनको खेल नदेखेको खेलप्रेमी पूर्वी पाल्पामा कमै छन्।
रम्भा गाउँपालिका–२ ब्रोमसेमा जन्मिएका आले, बुवा खोमबहादुर आले र आमा अञ्चनी आलेका कान्छा छोरा हुन्। दुई दाजु र दुई दिदी भएका आले सामान्य कृषक परिवारमा हुर्किएका हुन्। घरको आम्दानीको मुख्य स्रोत कृषि मात्रै भएकाले खेल जीवन सहज भने रहेन।
आलेले १६ वर्षको उमेरदेखि निरन्तर भलिबल खेल्दै प्रदेशस्तरसम्म पुग्दा पनि आयआर्जनको कुनै सुनिश्चित आधार नहुँदा धेरै प्रतियोगितामा आफ्नो प्रतिभा देखाउन नपाएको गुनासो गरे। “मन त खेल्नकै थियो, तर आर्थिक अवस्थाले धेरै ठाउँ घरमै बस्न बाध्य बनायो,” उनले भने।
५ फिट ९ इन्च उचाइ भएका आलेले क्षमता हुँदाहुँदै पनि खेल क्षेत्रमा हुने राजनीति र पहुँचका कारण अवसरबाट वञ्चित हुनुपरेको बताए। “धेरै क्लब, पालिका र जिल्लाबाट बोलाइ त आयो, तर खर्च जुटाउन नसक्दा खेल्न जान सकिन,” उनको पीडा छ।
उनका अनुसार न त स्थानीय सरकारले खेलाडीलाई उचित सम्मान दिन्छ, न खेल क्षेत्रमै टिक्ने रोजगारको व्यवस्था छ। “उमेर रहुञ्जेल मात्र खेलिन्छ, त्यसपछि के?” भन्ने प्रश्न अनुत्तरित रहेको उनले बताए।
याम आले भन्छन्, “देशमै बसेर खेल क्षेत्रमा केही गर्छु भन्ने युवाले आफ्नो पसिना बेच्न विदेश जानुपर्ने बाध्यता छ।” हाल उनी पनि विदेश जाने पूर्ण तयारीमा रहेका छन्।
अन्त्यमा उनले गहिरो प्रश्न छोडेका छन्।
“खेलाडीले विदेश नजानु पर्ने, स्वदेशमै सम्मान र रोजगारी पाउने वातावरण आखिर कहिले बन्छ?”














