राष्ट्रिय न्युज पाल्पा — पूर्वखोला गाउँपालिकाले स्थानीय जनताको आवश्यकता र सेवाको पहुँचलाई मध्यनजर गर्दै वडा नं. ५ विरकोटमा घरदैलोमै सेवा दिने उद्देश्यले घुम्ती शिविर सञ्चालन गरेको छ। घुम्ती शिविरमार्फत गाउँपालिकाबाट प्रवाह हुने प्रशासनिक, सामाजिक, स्वास्थ्य, कृषि, पशु, शिक्षा, भूमि तथा वैदेशिक रोजगारसम्बन्धी सेवाहरू एकै स्थानमा प्रदान गरिएको थियो। प्रशासन शाखातर्फ, २० वटा योजनाको सम्झौता सम्पन्न गरिएको छ भने २० वटा उपभोक्ता समितिलाई बैंक खाता खोल्न सिफारिस गरिएको प्रशासन शाखाका प्रमुख विनोद नेपालले जानकारी दिनुभयो। सामाजिक विकास शाखाबाट ९४ जना ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिएको सामाजिक विकास शाखाका प्रमुख मनबहादुर सारुले बताउनुभयो। राजस्व शाखातर्फ, ३८ वटा व्यवसाय नवीकरण भई ३७ हजार ६५० रुपैयाँ राजस्व संकलन गरिएको राजस्व शाखाका प्रमुख शेरबहादुर थापाले जानकारी दिनुभयो।
स्वास्थ्य सेवातर्फ, ८३ जनाले ओपिडी सेवा लिएका छन्। VIA विधिबाट महिलाको पाठेघरको मुखको क्यान्सर पहिचानका लागि १७३ जनाको परीक्षण गरिएकोमा १ जनामा संक्रमणको सम्भावना देखिएको छ। २० जनाले ल्याब सेवा लिएका छन् भने १ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ। स्वास्थ्यकर्मी डा. सुरज भण्डारी, अ.न.मी. प्रतिभा घर्ती मगर र चन्दा चलाउनेबाट सेवा दिइएको र निःशुल्क औषधि वितरण गरिएको पूर्वखोला स्वास्थ्य चौकी प्रमुख मोहन ढकालले जानकारी दिनुभयो।पशु सेवा शाखाबाट, ८५ जना सेवाग्राहीका २ हजार २६५ वटा पशुचौपायामा जुका, माटे र खुरेटविरुद्धको औषधि वितरण गरिएको पशु शाखा प्रमुख धनबहादुर दर्लामीले बताउनुभयो।
कृषि शाखाअन्तर्गत, १० जना कृषकका ३० वटा माटो नमुनाको परीक्षण गरिएकोमा २–४ वटा नमुनामा हल्का अम्लीयपन देखिएको र बाँकी राम्रो रहेको कृषि शाखाका शेरबहादुर बुढाले जानकारी दिँदै कृषकलाई कृषि चुन प्रयोग गर्न सुझाव दिनुभयो। शिक्षा शाखाबाट, कक्षा ११/१२ का २७ जना छात्रछात्रा र ४ जना अभिभावकविहीन गरी कुल ३१ जनालाई शैक्षिक सामग्री तथा नगद सहयोग गाउँपालिका अध्यक्ष नुनबहादुर थापा र उपाध्यक्ष भागिरथी भट्टराईले वितरण गर्नुभयो।
भूमि तथा घरजग्गा सेवातर्फ, ५ जनालाई कित्ता थप छुट, घर–गोठ कुन कित्तामा परेको, जमिनको क्षेत्रफल तथा कृषि, आवासीय र औद्योगिक क्षेत्रबारे जानकारी अमन चौधरीले दिनुभयो। वैदेशिक रोजगार सेवातर्फ, विदेशमा मृत्यु वा घाइते हुँदा पाउने सुविधा, आवश्यक कागजात, विदेश जाँदा ध्यान दिनुपर्ने कुरा तथा ठगी भएमा सम्पर्क गर्ने निकायबारे १२ जनालाई रोजगार सेवा केन्द्रका भुपेन गाहाले जानकारी दिनुभयो।
बैंकिङ सेवातर्फ, २० वटा उपभोक्ता समिति र २५ जना व्यक्तिगत खाताका लागि आवश्यक कागजात तयार गरी सेवा दिइएको ग्लोबल आईएमई बैंक पूर्वखोला शाखाका प्रबन्धक नारायण शर्माले जानकारी दिनुभयो।
घुम्ती शिविरको उद्देश्यबारे स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले प्रस्तुति दिनुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले “सेवा घरदैलोमै पाउनु जनताको अधिकार हो” भन्दै सिंहदरबारको अधिकार गाउँ–गाउँमा पुर्याउने सरकारको लक्ष्यअनुसार पूर्वखोला गाउँपालिकाले यस्तो सेवा प्रवाह गरिरहेको बताउनुभयो। उहाँले हरेक वर्ष घुम्ती शिविर सञ्चालन हुँदै आएको र आगामी वर्षहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उपाध्यक्ष भागिरथी शर्मा भट्टराईले महिलाहरू समयमै स्वास्थ्य परीक्षण नगर्दा जटिल रोग लाग्ने जोखिम हुने भएकाले यस्तो शिविरमार्फत प्रारम्भिक जाँच र उपचारको अवसर लिन आग्रह गर्नुभयो।
८० वर्षीय मानबहादुर सारुले ज्येष्ठ नागरिक परिचयपत्र पाएपछि खुसी व्यक्त गर्नुभयो। गणपति माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत अभिभावकविहीन छात्रा सुरक्षा थापाले शैक्षिक सामग्री र नगद सहयोगले पढाइमा ठूलो राहत मिलेको बताउँदै गाउँपालिकालाई धन्यवाद दिनुभयो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले घुम्ती शिविरका कारण कागजात अभावले फर्कनुपर्ने समस्या हटेको उल्लेख गर्दै सेवाग्राही र सेवा प्रदायकबीच आत्मीयता बढेको बताउनुभयो।
कार्यक्रम शिक्षा शाखा प्रमुख लोकहरि देवकोटाको सञ्चालनमा तथा वडा नं. ५ का अध्यक्ष विष्णुबहादुर पल्लिको अध्यक्षतामा सम्पन्न भएको हो।














