पाल्पा, रामपुर — रामपुर नगरपालिकाको आर्थिक सहयोगमा रामपुर नगरपालिका–१० का महिला दिदिबहिनीहरूलाई पाँचदिने सिपमूलक तालिम प्रदान गरिएको छ। सिर्जना आमा समूह, रामपुर–१० को आयोजनामा सञ्चालन गरिएको तालिममा स्थानीयस्तरमा पाइने विभिन्न सुकेका फूल प्रयोग गरी पूजा–आजामा प्रयोग हुने बटारे धुप बनाउने सिप सिकाइएको हो।
सोमबार सम्पन्न तालिम समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै रामपुर नगरपालिकाकी उपप्रमुख बालकुमारी थापाले महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाले निरन्तर सिपमूलक तथा आयआर्जनमूलक तालिम सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले महिला दिदिबहिनीहरूको माग र आवश्यकताअनुसार समयसापेक्ष र व्यवहारिक कार्यक्रमलाई प्राथमिकता दिइएको उल्लेख गर्नुभयो।
उपप्रमुख थापाले तालिमबाट उत्पादन भएका सामग्रीको बजारीकरणका लागि नगरपालिकाले उपप्रमुख कोशेली घरमार्फत व्यवस्था गर्दै आएको जानकारी दिँदै, सिकेका सिप प्रयोग गरी उद्यमशील बन्न सहभागी महिलालाई आग्रह गर्नुभयो।
कार्यक्रममा रामपुर नगरपालिका–१० का वडा सदस्य पिताम्बर ओस्तीले तालिमबाट प्राप्त सिपलाई निरन्तरता दिई लगनशीलताका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो। तालिमकी प्रशिक्षक मञ्जु अधिकारीले धुपको खोजी बजारभन्दा गाउँमै आउने वातावरण सिर्जना गर्नुपर्ने बताउँदै स्थानीय उत्पादनलाई प्राथमिकता दिन सुझाव दिनुभयो।
यस्तै दुर्गादेवी भण्डारीले गाउँघरमै उपलब्ध कच्चा पदार्थ र सुकेका फूलको प्रयोगबाट बटारे धुप उत्पादन गर्न सकिने सम्भावनाबारे चर्चा गर्नुभयो भने समाजसेवी पार्वती न्यौपानेले तालिममा सिकेको सिप व्यवहारमा उतारेर तालिमको औचित्य पुष्टि गर्न आग्रह गर्नुभयो।
रामपुर–१० स्थित मुना मेमोरियल ट्रष्ट भवन, जगटेआँपमा आयोजित कार्यक्रममा सहभागी बिमला ओस्ती, विद्या अर्याल र शोभा भण्डारीले तालिमबाट सिकेका ज्ञान र सिपलाई मेहनतका साथ व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गर्दै तालिम सञ्चालन गरेकोमा रामपुर नगरपालिकालाई धन्यवाद ज्ञापन गर्नुभयो।
सिर्जना आमा समूहकी अध्यक्ष सावित्रा अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रम समृद्धि तिमिल्सिनाको स्वागत मन्तव्यबाट सुरु भई दिपा तिमिल्सिनाको सञ्चालनमा सम्पन्न भएको थियो। तालिममा ६० जना महिला दिदिबहिनीको सहभागिता रहेको थियो भने सहजीकरण प्रशिक्षक मञ्जु अधिकारीले गर्नुभएको थियो। समापनका अवसरमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको छ।













