सुशिल बस्याल "राष्ट्रप्रेमी"- हिमालयको काखमा, निलगिरी, धौलागिरी, अन्नपूर्ण र माछापुछ्रे पर्वत श्रृंखलाको मनोरम दृश्यले घेरिएको, कालीगण्डकी नदीको पवित्र बहावले चारैतिर घेरेको नयाँ आध्यात्मिक तीर्थस्थल महामृत्युञ्जय शिवासन अब राष्ट्रिय र अन्तर्राष्ट्रिय चर्चाको विषय बनेको छ।
काठमाडौंबाट करिब ३१५ किलोमिटर पश्चिम, लुम्बिनीबाट उत्तर, मुक्तिनाथ, देवघाट र रुरु क्षेत्रबीच अवस्थित यस तीर्थस्थलले धार्मिक, सांस्कृतिक, पर्यटकीय र सामाजिक दृष्टिले विशेष महत्व बोकेको छ। यहाँ आउने श्रद्धालुहरूले हिमालको शीतल हावा, कालीगण्डकीको पवित्र बहाव र शान्त वातावरणको अनुभव गर्न पाउँछन्। मुख्य आकर्षण: विराट महामृत्युञ्जय शिवमूर्ति
मूर्ति ७०% तामा र ३०% पित्तलको मिश्रणबाट निर्मित, विश्वकै उत्कृष्ट धातुको मूर्तिहरूमध्ये एक मानिन्छ। विराट आकार, कलात्मक शिल्प र सुशोभित सौन्दर्यले भक्तजनलाई गहिरो आध्यात्मिक अनुभव दिन्छ। २०७० फागुन ७ गते स्वामी श्री १००८ विवेकानन्द सरस्वतीजी महाराजको करकमलबाट प्राणप्रतिष्ठा गरिएको यस मूर्तिमा अखण्ड शान्तिदीप, शक्ति धुनी र नित्य पूजाअर्चना निरन्तर सञ्चालन भइरहेको छ।
सात वर्षको साधना: भीम बस्याल
तीर्थस्थल निर्माणमा मुख्य योगदानकर्ता युवा साधक भीम बस्याल हुन्। सात वर्षसम्म महामृत्युञ्जय मन्त्र जप गरेर पाएको मानसिक स्थिरता, स्वास्थ्य सुधार र आध्यात्मिक जागरणको अनुभवले उनलाई यस मूर्ति निर्माण र तीर्थस्थल विकासको प्रेरणा दिएको हो। भीम बस्यालले आफ्नो ध्यान स्थिरताको प्रभावबाट, भगवान् भोलेनाथले प्रत्यक्ष दर्शन दिनुभयो भन्ने आस्था अनुसार, आफ्नै जग्गामा ध्यान मुद्रा बसेर मूर्ति निर्माण गर्ने निर्णय गर्नुभयो। यसै आधारमा उनले तत्काल मूर्ति बनाउन सुरु गरी, उक्त पवित्र भूमिमा शिवजीलाइ विराट स्वरुपमा स्थापना गर्नुभएको हो। निर्माण र सम्पूर्ण लगानी उहाँ स्वयंले व्यवस्थापन गर्नुभएको र परिवारले मन्दिरको जग्गा दान गर्नुभएको छ।
धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्व
महामृत्युञ्जय शिवासनले पाल्पा र समग्र राष्ट्रको धार्मिक, सांस्कृतिक र सामाजिक जीवनमा गहिरो प्रभाव पार्ने विश्वास गरिएको छ। यसले धार्मिक पर्यटन, रोजगारी, स्थानीय व्यवसाय र सांस्कृतिक संरक्षणमा योगदान पुर्याउनेछ। भक्तजनहरूले हिमालको सुन्दर दृश्य, कालीगण्डकीको पवित्रता र विराट शिवमूर्तिसँग प्रत्यक्ष अनुभव प्राप्त गर्ने अवसर पाउँछन्।
भविष्यको सम्भावना
महामृत्युञ्जय शिवासनले राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय तीर्थस्थलको रूपमा परिचित हुने संभावना छ। स्थानीय प्रशासनले धार्मिक र पर्यटकीय दृष्टिले यस क्षेत्रको विकास अघि बढाइरहेको छ। युवा साधकको दृढ संकल्प, सात वर्षको अनवरत साधना र परिवारको योगदानले यो तीर्थस्थल सम्पूर्ण राष्ट्रका लागि आध्यात्मिक प्रेरणाको स्रोत बनेको छ।











