बिकास काफ्ले पाल्पा, चिदीपानी- विश्व ध्यान दिवसको अवसरमा चिदीपानी आयुर्वेद औषधालयले सौभाग्य माध्यमिक विद्यालयमा विशेष जनचेतनामूलक कार्यक्रम आयोजना गरी दिवस मनाएको छ।
कार्यक्रममा आयुर्वेदिक उपचार पद्धति र ध्यानको महत्वबारे जानकारी गराइएको थियो। मानसिक तनाव न्यूनीकरण गर्नुका साथै शारीरिक र मानसिक सन्तुलन कायम राख्न ध्यानको भूमिका अत्यन्त महत्वपूर्ण रहेको सौभाग्य माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद खनालले बताउनुभयो।
उहाँका अनुसार ध्यान अभ्यासले विद्यार्थीको एकाग्रता, अनुशासन र सकारात्मक सोच विकासमा सहयोग पुर्याउँछ।
कार्यक्रममा चिदीपानी आयुर्वेद औषधालयका प्रमुख डा. श्रीधर अधिकारीले नियमित ध्यान अभ्यासले जीवनशैली सुधार हुनुका साथै विभिन्न रोगको जोखिम घटाउने जानकारी दिनुभयो। उहाँले ध्यानले तनाव, उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल, एड्रिनालिन र कोर्टिसोलको स्तर कम गर्न मद्दत गर्ने उल्लेख गर्नुभयो। साथै, ध्यान अभ्यासले मानसिक चिन्ता, डिप्रेसन, बेचैनी, अनिद्रा, रिस र आवेग नियन्त्रणमा सहयोग गर्ने र डोपामिन, सेरोटोनिन तथा एन्डोर्फिनजस्ता लाभदायक हर्मोनको उत्पादन क्षमता बढाउने उहाँको भनाइ थियो।
डा. अधिकारीले आयुर्वेद र ध्यान एक–आपसमा पूरक रहेको उल्लेख गर्दै स्वस्थ र सन्तुलित जीवनका लागि दैनिक ध्यान अभ्यासलाई जीवनशैलीको हिस्सा बनाउन आग्रह गर्नुभयो।
कार्यक्रममा विद्यार्थी, शिक्षक तथा विद्यालय परिवारको उल्लेखनीय सहभागिता रहेको थियो।











