राष्ट्रिय न्युज - पुर्वी पाल्पाको पूर्वखोला गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा समाज उत्थान सहयोग केन्द्र नेपालको सहजीकरणमा सञ्चालित पूर्वखोला कृषि तथा पशु विकास परियोजना अन्तर्गत स्थानीय तहमा कार्यरत पशुप्राविधिकहरूको क्षमता विकास तथा गाई–भैंसीमा देखिने प्रजनन विकृति र बाझोपन न्यूनिकरणका लागि विशेष शिविर अभियान सञ्चालन गरिएको छ।
परियोजना संयोजक राजकुमार आलेका अनुसार पूर्वखोला गाउँपालिकाको कृषि तथा पशुपालन क्षेत्रलाई दिगो बनाउने उद्देश्यले परियोजना अघि बढाइएको हो। “कृषकको लगानी, समस्या र वास्तविक आवश्यकतालाई बुझेर कार्यक्रम सञ्चालन गरिएको छ,” उहाँले बताउनुभयो। परियोजनाले हाल गाई र भैंसीमा देखिने बाझोपनको समस्या न्यूनिकरणमा विशेष ध्यान दिएको छ।
शिविरमा सहभागी कृषक मथुरा खनालले आफू विगत सात वर्षदेखि भैंसी पालनमा संलग्न रहेको उल्लेख गर्दै दूधको मूल्य गाउँमै कम भएको र राम्रो मूल्यका लागि ब्यवस्थापन गर्नुपर्ने साथै भैंसी पालन बाट आफ्नो परिवारको जिबिको पार्जन चलेको बताउनुभयो। उहाँले यस्ता शिविरले समस्याको समाधानतर्फ आशा जगाएको बताउनुभयो।
कार्यक्रममा राष्ट्रिय पशु प्रजनन कार्यालयमा कार्यरत पशु विकास अधिकृत बाकेका डा. मिलन कुमार चौधरीले किसानको ज्ञान, सीप र दक्षता अभिवृद्धि गर्नुका साथै किसानले भोग्दै आएका प्रजननसम्बन्धी समस्याको समाधानमा कार्यालय सक्रिय रहेको जानकारी दिनुभयो।
त्यसैगरी, रेडा पाल्पाका प्राविधिक संयोजक बिष्णु रेग्मीले पशुमा गरिने कृत्रिम गर्भाधानका क्रममा देखिने समस्याहरूको पहिचान र समाधानका लागि सहजीकरण गरिएको बताउनुभयो।
परियोजनाअन्तर्गत आयोजित बाझोपन शिविरमा सहभागी पशुप्राविधिक हुम बहादुर झेणीले शिविरबाट नयाँ ज्ञान र सीप सिक्ने अवसर पाएको र किसानको समस्या अनुसार काम गर्न सहज भएकोमा खुशी व्यक्त गर्नुभयो।
हेफर नेपाल, बुटवलमा कार्यरत अंशु प्रधानले पशुमा देखिने बाझोपनले किसानलाई ठूलो आर्थिक क्षति पुर्याउने भएकाले आहारा व्यवस्थापन, गोठ सुधार र नियमित प्राविधिक सहजीकरण अत्यावश्यक रहेको बताउनुभयो। त्यसका लागि गोठ–गोठमा पुगेर सेवा प्रवाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
कार्यक्रममा पूर्वखोला गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराईले किसानको क्षेत्रमा गरिएको यो प्रयास अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै कृषि तथा पशु प्राविधिकहरूको क्षमता अभिवृद्धि कार्यक्रमले किसानको समस्या समाधानमा ठोस योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। “यस कार्यक्रमले सकारात्मक सन्देश जानेछ र किसानका वास्तविक समस्याहरू सम्बोधन हुनेछन्,” उहाँले भन्नुभयो।
पूर्वखोला कृषि तथा पशु विकास परियोजनाअन्तर्गत सञ्चालन गरिएको यो बाझोपन शिविर तथा क्षमता विकास कार्यक्रमले स्थानीय कृषक र पशु प्राविधिक दुवैका लागि उपयोगी तथा प्रभावकारी भएको सहभागीहरूको भनाइ छ।
कार्यक्रममा २० जना प्राबिधिकको सहभागी र ११ बटामा गाईभैसीमा बाझोपन सम्बन्धि परिक्षण गरिएको थियो। यो डिजिटल परिक्षण पाल्पामा नयाँ परिक्षण रहेको छ।











