राष्ट्रिय न्युज-विगत ३ बर्षको लामो मिहिनेत पछि नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले तानसेनमा ब्लड बैंकको शुभारम्भ गरेको छ । रेडक्रसले रेडक्रसकर्मी, पत्रकार, नागरिक समाज र सर्वसाधारणको सहभागितामा ६३ औं रेडक्रस दिवसको अवसरमा पाल्पामा पहिलो पटक ब्लड बैंक सञ्चालनमा ल्याएको हो ।
ब्लड बैंक सञ्चालनमा आएपछि रगत अभावका कारण बुटवल लगायतका क्षेत्रबाट नियमित रुपमा रगत ल्याउनु पर्ने बाध्यता हड्ने विश्वास गरिएको छ । तसर्थ रेडक्रसले सञ्चालन गरेको ‘हामी बनाउछौ हाम्रो ब्लड’ बैक अभियानमार्फत सञ्चालनमा ल्याइएको ब्लड बैंकले आम पाल्पाबासीमा खुसी छाएको छ ।
नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखा अध्यक्ष बाबुराम कार्कीले अबका दिनमा पाल्पामा रक्त अभावको समस्यालाई समाधान गर्न रक्त बैंक महत्वपूर्ण हुने बताउनु भयो । विगतमा आकस्मिक अवस्थामा रगत अभावका कारण बिरामी र परिवारजनलाई कठिनाइ व्यहोर्नु परेको थियो । अबका दिनमा रगत नपाएर मानिसको मृत्यु हुनबाट रोक्न यो कार्यक्रमले सहयोग गर्ने अध्यक्ष कार्कीले बताउनु भयो ।
पाल्पामा हरेक महिना ३ सय देखी ३ सय ५० प्वाइन्ट र बार्षिक रुपमा ४ हजार ५ सय प्वाइन्ट रगतको आवश्यकता पर्ने गरेको छ । दुर्घटना, प्रसूति, शल्यक्रिया तथा दीर्घकालीन रोगका बिरामीहरूको लागि समयमै रगत उपलब्ध गराउन कठिनाइ भइरहेकाले विरामीहरुलाई रगतको अभाव हुन नदिन, आधुनिक रक्त बैंक स्थापना गरि सञ्चालनमा ल्याएको रेडक्रस पाल्पाका उपसभापति भिमसेन कार्कीले बताउनु भयो ।
रक्त बैक सञ्चालन भएपछी अझ आईपर्ने चुनौती र कठिनाईलाई समाधान गर्न रेडक्रसले आगामी दिनमा नियमित रक्तदान कार्यक्रम सञ्चालन गर्ने र जिल्लाभर जनचेतनामूलक अभियानलाई निरन्तरता दिने, पालिकास्तरमा पुगेर रक्तदाताको रोष्टर तयार पार्ने शाखाका मन्त्री केशवराज नेपालले बताउनु भयो ।
पाल्पामा दैनिक रुपमा आवश्यक पर्ने रगतको अभाव परिपुर्ती गर्नको लागि अस्थायी रुपमा शाखा कार्यलयमै ब्लड बैक सञ्चालन गरिएको र स्थायी रुपमा तानसेन नगरपालिका –१ भुसालडाँडामा भवन निर्माण भईरहेको कार्यालय प्रमुख विनोद भारतीले जानकारी गराउनु भयो । ब्लड बैक भवन निर्माणको लागि शहरी विकास मन्त्रालयबाट गत बर्ष १ करोड ५० लाख र चालु आर्थिक बर्षमा ३ करोड रुपैयाँ विनियोजन भएको थियो ।
नियमित रुपमा ब्लड बैक सञ्चालन तथा चालु खर्च व्यबस्थापनको लागि रेडक्रसले विभिन्न व्यक्ति संघ सस्थाहरुबाट ६८ लाख संकलन गरेको र रकम संकलन अभियान जारी रहेको शाखा कोषाध्यक्ष सन्तोष खनालले बताउनु भयो । ब्लड बैक सञ्चालनको लागि संघीय स्वास्थ्य मन्त्रालयबाट ५० लाखमा अत्याधुनिक उपकरण खरिद भएको, रामपुर नगरपालिका बाट १० लाख बराबरको जेनेटर, रम्भा गाउँपालिका बाट ५ लाख बराबरको एसि फ्रिज, रिव्दीकोट गाउँपालिकाबाट ५ लाख बराबरको व्याट्री व्याकप लगायतका सरसमान खरिद गरिएको रेडक्रस पाल्पाले जनाएको छ ।













