राष्ट्रिय न्युज- नेपाली नारीहरुको महानपर्व हरितालिका तीज आज धुमधामसँग मनाईदैछ । भाद्र शुक्ल तृतीयाका दिनमा हरितालिका तीज पर्व मनाईने गर्दछ । महिला व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ । आजको दिन निराहार व्रत बसे अविवाहित नारीले राम्रो बर पाइने र बिबाहित महिलाहरुले पतिको दिर्घायुको कामना गर्दै पुजाआजा गर्ने चलन छ ।
सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकी कथा छ । त्यसैले आजको दिन निराहार व्रत बसेर विधिपूर्वक शिवपार्वतीको पुजा गरे मनोकामना पूरा हुने विश्वास छ । यही विश्वासका साथ व्रतालुहरुको आज बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायतका शिव मन्दिरहरुमा महिलाहरुको भिड लाग्ने गर्दछ ।
तीजको अघिल्लो दिन दर खाने चलन छ,विशेषगरी माइती एवम दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । दिदि-बहिनी, आमा-छोरी, सासु-बुहारी गीत मार्फत बर्षदिन भरि दुख सुख पिडा बेदनाको बिलौना घर आगन पिढी बसेर गीत मार्फत पोख्ने चलन छ। तर पछिल्लो पटक महिना दिन पहिलादेखि आलो पालो घर घरमा पाटी प्लेसमा गएर म्युजिक बजाएर नाच गान रमाइलो गर्ने चलन शुरु हुँदा कतै तीजको मौलिक संस्कृति लोप हुने त होईन भन्ने संका समेत उत्पन्न भएको छ ।
हरितालिका तीजको दिन शिब मन्दिरमा पुजा गर्ने व्रत बस्ने दिनभरी डाडा काडा भन्ज्यांग चौतारीमा महिला दिदी बहिनीहरु जम्मा भएर मौलिक तीजका भाकामा नाच गान गरी रमाइलो गर्ने गर्दछन। तीजको नाच गान ऋषिपंचमीको पुजा आजा गर्दा सम्म चल्दछ । दर खाएपछि शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुने गर्दछ ।












