राष्ट्रिय न्युज-स्थानीय तहका आधारभूत अस्पतालहरू सञ्चालनका लागि संघीय सरकारले मेडिकल अधिकृतसहित एक करोड रुपैयाँ अनुदान दिने भएको छ । शुक्रवार प्रेस युनियन डोटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्थानीय तहमा सञ्चालन हुने आधारभूत अस्पतालहरूमा व्यवस्थित प्रयोगशाला निर्माण गर्नका लागि विश्व स्वास्थ्य संगठनलाई प्रस्ताव गरिएको बताए । विश्व स्वास्थ्य संगठन सकारात्मक रहेको छ । त्यो भयो भने आधारभूत अस्पतालमा व्यवस्थित प्रयोगशाला स्थापना हुनेछ ।’ भवन निर्माण भई भाद्र मसान्तभित्र हस्तान्तरण भइसकेका स्थानीय तहमा मन्त्रालयले सो अनुदान उपलब्ध गराउने समेत जानकारी गराए ।
निर्माण सम्पन्न भई नसकेका भवनहरूलाई सम्पन्न गराउन ६० प्रतिशत स्थानीय तह आफै र ४० प्रतिशत संघीय सरकारले व्यहोर्ने गरी अर्थ मन्त्रालयलाई प्रस्ताव गरिएको समेत स्वाथ्यमन्त्री पौडेलले बताउदै कुल बजेटको कम्तीमा १० प्रतिशत स्वास्थ्य क्षेत्रमा अनिवार्य लगानी गर्न स्थानीय तहहरूलाई समेत आग्रह गरेका छन ।













