राष्ट्रिय न्युज रामपुर, पाल्पा-
भदौ ४, रामसीता रामपुर यातायात प्रा.लि. रामपुर पाल्पाले सुबिधा सम्पन्न ‘रामसीता’ बस सञ्चालनमा ल्याएको छ । यात्रुहरुको सहजतालाई मध्यनजर गर्दै रामपुर–काठमाडौंका लागि हिजो साँझ देखि एसी सहितको सोफा सिटर रात्री बस सेवा सञ्चालनमा ल्याएको हो ।
रामपुर–काठमाडौका लागि कालीगण्डकी वेशी क्षेत्र बाटै पहिलो पटक एसी सहितको भिआईपी सोफा सिटर रात्री बस सेवा शुभारम्भ गरेको रामसीता रामपुर यातायात प्रा.लि.ले जनाएको छ । रामपुर सहित कालीगण्डकी वेशी क्षेत्रका जनताको सहजताका लागी स्तरीय यातायात सेवा प्रदान गर्न कम्पनीले लामो दुरीका लागि सुविधा सम्पन्न बस सहित रात्रि सेवा शुभारम्भ गरेको रामसीता रामपुर यातायात प्रा.लि.का अध्यक्ष विष्णु सुनारले बताउनुभयो ।
कालीगण्डकी वेशी क्षेत्र बाट काठमाडौ संगै देशका मुख्य शहरहरुमा स्तरीय सुविधा सहितको यातायात सेवा विस्तारका लागि कम्पनी लागि परेको बताउनुभयो । कम्पनीले तत्कालका लागि साढे दुई करोड लगानीमा तीन वटा एसी तथा सोफा सिटर बस सञ्चालनमा ल्याएको छ ।
‘रामसीता’ बसमा यात्रुहरुको लागि वाई फाई फ्री, मोबाईल चार्जिङ सहित खानेपानीको व्यवस्था गरिएको रामसीता यातायातका सचिव एवं क्यू संयोजक प्रकाश ज्ञावलीले जानकारी दिनुभयो । रामसीता’ बस काठमाडौका लागि साँझ ५ बजे रम्भा गाउँपालिका १ पन्टार बाट र सोही बस साँझ ६ बजे बेझाँड बाट छुट्ने छ । साथै काठमाडौबाट रामपुरका लागि साँझ ६ बजे छुट्ने प्रा.लि.ले जाएको छ ।
२०८२ असार देखि आफ्नो सेवा शुभारम्भ गरेको कम्पनीले रामपुर देखि पोखरा, नारायणगढ, भैरहवा, सुनौली लगाएतका स्थानमा नियमित एसी हाईस तथा इभी मार्फत यातायात सेवा दिदै आएको छ । प्रा.लि.ले टिकट बुकिङका लागि कालीगण्डकी वेशीका विभिन्न स्थानहरु संगै काठमाडौ र अन्य शहरहरुमा पनि आफ्नो काउण्टर स्थापना गरेको छ ।













