राष्ट्रिय न्युज- नेपाल सरकारले आर्थिक बर्ष २०८०/८१ मा उत्कृस्ट भएका ३ वटा गाँउपालिका र ३ वटा नगरपालिकाको नाम घोषणा गरेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता, कार्य सम्पादन स्वमूल्याङ्कनमा उत्कृष्ट नतिजा ल्याउने ६ वटा स्थानीय तहको नाम सार्वजनिक गरेको हो । उक्त मन्त्रालयले देशै भरका स्थानीय तहमा सबैभन्दा बढी अंक ल्याई उत्कृस्ट घोषित हुने ६ वटै स्थानीय तहलाई सम्मान समेत गर्ने भएको छ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको जानकारी अनुसार सम्मानित हुने ३ उत्कृष्ट नगरपालिकाहरूमा चितवनको खैरहनी नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र धादिङको नीलकण्ठ नगरपालिका रहेका छन। त्यसैगरी ३ वटा उत्कृस्ट गाउँपालिकामा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका, धादिङको बेनीघाट रोराङ गाउँपालिका र गुल्मीको रुरु क्षेत्र गाउँपालिका रहेका छन।
स्थानीय तहहरूको कार्यप्रक्रिया, उपलब्धि र विकास व्यवस्थापनको लेखाजोखा गर्न, सुधारका क्षेत्रहरू पहिचान गर्न तथा स्वस्थ प्रतिस्पर्धाको भावना जगाउन लिसा मूल्याङ्कन गरिँदै आएको छ । सोही मूल्याङ्कनको अन्तिम नतिजाअनुसार यी पालिकाहरूले देशैभरका स्थानीय तह अर्थात राष्ट्रिय स्तरमा उच्चतम अङ्क हासिल गरी सम्मानित हुन लागेका हुन। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको उपस्थितिमा भाद्र ६ गते शुक्रबार मन्त्रालयकै सभाहलमा सम्मान कार्यक्रम समेत राखेको छ ।
हेर्नुहोस सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको जानकारी














