राष्ट्रिय न्युज- पाल्पामा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, (प्याब्सन)ले शिक्षा विधेकमा समाबेश गरिएका केही बुदाहरुमा असहमति जनाउदै आन्दोलन सुरु गरेको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट हालै पारित भएको प्रस्तावित शिक्षा विधेयकमा समाबेश गरिएका केही बुदाहरुमा निजी विद्यालयहरुको असहमती रहेकोले गत साउन २७ गते प्याव्सन केन्द्रीय कार्यालयमा बसेको संयुक्त बैठकको निर्णय अनुसार आन्दोलन शुरु गरेको हो ।
जस अनुसार बिहीवार नगर र गाँउपालिका शिक्षा शाखा प्रमुख, शुक्रबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी, शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला समन्वय समितिलाई ज्ञापनपत्र बुझाइएको प्याब्सन पाल्पाका सचिव गङ्गा खत्रीले जानकारी दिदै भदौ १ गते आइतबार प्रदेशमा मुख्यमन्त्री र सामाजिक विकास मन्त्रालयलाई ज्ञापनपत्र बुझाउने, भाद्र २ गते सांसदहरुलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको सचिव खत्रीले बताउनु भयो ।
सरकारले विद्यालय शिक्षा विधेयकका चार बुँदा संशोधन नगरे आन्दोलन चर्काउने बताएको छ । जसमा गैरनाफामूलक बनाइनेछ’ भन्ने वाक्यांश हटाउनुपर्ने, ‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्द हटाउनुपर्ने, हालको जम्मा विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिनुपर्ने र छात्रवृत्तिमा भर्ना शुल्क, वार्षिक शुल्क तथा मासिक पढाइ शुल्क समावेश गर्नुपर्ने माग राखिएको छ ।













