राष्ट्रिय न्युज -सिन्धुलीबाट बेपत्ता भएका १६ जना परिवारको तीन दिन अघिको लोकेसन रामेछापमा देखाएको छ । सिन्धुली गोलन्जोर गाउँपालिका-६ का उर्मिला हायको परिवार सहित १६ जना बेपत्ताको सोमबार बिहानदेखि सोधखोजका क्रममा उनीहरूको लोकेसन रामेछाप नगरपालिका वडा ८ र ९ को बीचमा देखिएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी भोला भट्टले जानकारी दिएका छन ।
साउन ९ गते शुक्रबार देखि सम्पर्क बिहीन भएका थिए । उर्मिला हायको माइतीघर समेत रामेछाप भएको र बेपता व्यक्तिहरुको लोकेशन रामेछापमा देखिएपछि हाम्रो प्रहरी टोली खटिएको डिएसपी भट्टले बताए ।
हायु समुदायका व्यक्तिलाई सरकारले मासिक जनही चार हजार रुपैयाँ भत्ता दिने गरेको छ। यो परिवारले प्रतिव्यक्ति १२ हजार रुपैयाँका दरले १ लाख ८० हजार रुपैयाँ भत्ता झिक्न वडाबाट साउन ९ गते सिफारिस लगेका थिए।१६ जनाको परिवार बसोबास गर्दै आएको घर सोमबार सुनसान देखेपछि गाउँलेहरूले सोधखोज सुरू गरेका थिए । त्यस लगत्तै स्थानीयबासी, जनप्रतिनिधि र प्रहरीको टोलीले खोजबिन कार्यलाई तिब्ररुपमा अघि बढाएको हो ।












