राष्ट्रिय न्युज- रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी सम्पर्कमा आएका छन् । बिहीबार बिहान हराएका कर्मचारीहरु गुल्मी जिल्लाबाट गाउँपालिकाको सम्पर्कमा आएका छन ।
नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि रुकुम पूर्वमा गएर काम गर्ने भन्दै कर्मचारीको टोली रोल्पाको थबाङबाट हिँडेको गाउँपालिका अध्यक्ष ऋषिकेशव बुढामगरले जानकारी दिनु भयो । तर, बुधबार बेलुकासम्म पटकपटक सम्पर्क गर्दा पनि फोन स्वीच अफ भएपछि कर्मचारी हराएको सूचना निकाल्न गाउँपालिका बाध्य भएको उँहाको भनाई छ ।
सबैतिर हल्लाखल्ला भएपछि बिहीबार बिहान हराएका कर्मचारी टोली सम्पर्कमा आएको थबाङ गाउँपालिका अध्यक्ष बुढामगरले बताए । कर्मचारीको टोली गुल्मीमा हुनुहुँदो रहेछ, बिहान सम्पर्कमा आउनुभयो । आजै जिल्ला सदरमुकाम लिबाङ आएर त्यसपछि थबाङ आउँछौँ भन्नुभएको छ,’ अध्यक्ष ऋषिकेशव बुढामगरले बताउनु भयो ।
आर्थिक वर्षको अन्तिममा प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगरसहितका कर्मचारीहरू सम्पर्कमा नआएपछि गाउँपालिकाले सूचना नै निकालेको थियो । ‘प्रमुख प्रशासकीय अधिकृत लगायत आर्थिक प्रशासन प्रमुख, सव-इन्जिनियर, प्रशासन शाखा प्रमुख, खा.पा.स.टे. र सवारी चालकहसहित ७ जना मिति २०८२ असार २४ गते बिहान ७ बजेदेखि आजको मिति २०८२ असार २५ गतेसम्म कार्यालयको सम्पर्कमा नआएको,’ सूचनामा भनिएको थियो । यसरी सम्पर्कविहीन भएरै हिँड्नुपर्ने गरी आफूहरुसँग कुनै लफडा नभएको अध्यक्ष बुढाले बताए । कार्यालयको भुक्तानीका लागि आवश्यक पर्ने ओटीपी कोड थबाङमा नचलेको भन्दै प्रमुख प्रशासकीय अधिकृतको टोली रुकुम पूर्व गएर काम गर्ने भन्दै हिँडेको थियो । तर उनीहरु गुल्मी पुगेको पाइएको छ ।












