राष्ट्रिय न्युज ।
पाल्पा– रामपुर नगरपालिकामा किशोर किशोरी र विद्यालय नर्सहरुलाई प्रजनन् स्वास्थ्य सम्बन्धि अभिमुखीकरण प्रदान गरिएको छ । विहीबार किशोर–किशोरीहरूलाई यौनिकता, शारीरिक परिवर्तन र यौन स्वास्थ्यबारे विद्यमान भ्रमहरू हटाउने उद्देश्यका साथ अभिमुखीकरण प्रदान गरिएको थियो ।
किशोर किशोरी स्वास्थ्य कार्यक्रम अन्तर्गत रामपुर नगरपालिका स्वास्थ्य शाखाले नगर भित्रका माध्यमिक विद्यालय र आधारभूत विद्यालय, विद्यार्थी र नर्सहरुलाई अभिमुखिकरण प्रदान गरेको हो । कार्यक्रममा नेपाल परिवार संघ तानसेनका शाखा प्रबन्धक शोवाकान्त न्यौपानेले किशोर किशोरहरुको लागि बृहत यौनिकता शिक्षाको बारेमा अभिमुखिकरण प्रदान गर्नु भएको थियो । उहाँले किशोर किशोरीको मैत्री व्यवहार, यौन तथा प्रजनन् स्वस्थ्य सम्बन्धी चासो, चिन्ता, समस्या र आवश्यकता संगै किशोर किशोरी मैत्री स्वस्थ्य सेवाका विशेषताका बारेमा जानकारी दिनु भएको थियो ।
त्यसैगरी, गाँडाकोट स्वास्थ्य चौकी प्रमुख मजिबुर रहमान शेख र नर्सिङ अधिकृत पुनम धितालले किशोरी मैत्री स्वास्थ्य सेवाका विशेषता, पहुँच, र महत्वका विषयमा सहभागीहरूलाई जानकारी गराउनुभयो । कार्यक्रममा आफ्नो धारणा राख्दै रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले किशोर अवस्था एक संवेदनशील चरण भएकाले त्यसबेला देखिने शारीरिक तथा मानसिक परिवर्तनबारे स्पष्ट ज्ञान नहुँदा भ्रम सिर्जना हुने बताउँदै, यस्तो शिक्षाले किशोर–किशोरीहरूलाई संशक्त बनाउने विश्वास व्यक्त गर्दै उहाँले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
रामपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रम उपप्रमुख थापाको अध्यक्षता र स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेको सञ्चालनमा भएको हो । कार्यक्रममा ५७ जना विद्यार्थी र विभिन्न विद्यालयका नर्सहरूको सहभागिता रहेकको थियो ।













