पाल्पा।
गृहिणी महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले संचालन भएको १ महिने ढाका बुन्ने तालिम तानसेनमा सम्पन्न भएको छ ।
पाल्पाली ढाका संघको समन्वय तानसेन नगरपालिकाको आयोजनामा महिलाहरुलाई सीप प्रदान गर्नुका साथै आर्थिकरुपमा आत्मनिर्भर बन्न प्रेरित होस् भन्ने हेतुले तालिम प्रदान गरिएको हो ।सञ्चालित १ महिने ढाका कपडा बुन्ने आधारभूत तालिम हिजो समापन गरेको छ।
जेठ १२ गतेदेखि असार १२ गतेसम्म सञ्चालन भएको तालिममा नगरका २० जना गृहिणी महिलाहरूले सहभागिता जनाएका थिए।
तालिममा ढाकाका रुमाल, पातलो सल, मखलर लगायतका सामग्री बनाउने सीप प्रदान गरिएको थियो। तालिमका सहभागी प्रमिला हितागांले तानसम्म नदेखेको आफूले तालिमपछि तान चलाउन सिकेको अनुभव सुनाउँदै आयोजक र प्रशिक्षकप्रति आभार व्यक्त गर्नुभयो ।
समापन कार्यक्रमका प्रमुख आतिथी नगर प्रमुख सन्तोषलाल श्रेष्ठले तालिमबाट लिएको सीपलाई व्यावसायिकरुपमा अघि बढाउन आग्रह गर्दै यसको दीर्घकालिन व्यवस्थापनमा स्थानीय सरकार अग्रसर हुने बताउनुभयो ।
त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि तानसेन नगरपालिकाका उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले गृहिणीहरुलाई आत्मनिर्भर बनाउन लक्षित वर्गका लागि छुट्याइएको महिलाका लागि सिपमुलक तालिम अर्न्तगत डाका बुन्ने तालिम दिइएको बताउनुभयो। चुलाचौका छाडेर महिलाहरु उद्यमशील बन्नुपर्ने बताउँदै उहाले सीप सिक्नेमात्र नभइ यसलाई आर्थिक पाटोसँग जोड्न सकेको खण्डमा महिलाहरु आर्थिकरुपमा पनि सवल बन्ने बताउनुभयो ।
तानसेन नगरपालिका वडा न ६ मा वडाध्यक्ष सागरमान मर्हजन ,कार्यपालिका सदस्य लक्ष्मि विक, नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख भरत प्रसाद आचार्य लगायतले तालिमले स्थानीय महिलाहरुलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने बताउनुभयो । तालिम तालिममा मात्रै सिमित नराख्न पनि अनुरोध गर्नुभयो।
पाल्पाली ढाका संघको अध्यक्ष पुर्णमाया महर्जनको अध्यक्षता, महिला बालबालिका तथा ज्येष्ठ नागरिका शाखा प्रमुख महिला विकास निरीक्षक चिना कुमारी न्यौपाने ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो। समापन कार्यक्रममा सहभागी महिलाहरूलाई प्रमाणपत्र वितरणसमेत गरिएको थियो।












