राष्ट्रिय न्युज -रिब्दीकोट गाउँपालिकाको आयोजनामा पालिकाको वडा न. ८ फेक स्थित वार्ड कार्यालयमा वार्ड अध्यक्ष श्री चुरा बहादुर छहरी मगरको अध्यक्षतामा किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा घोषणा कार्यक्रम" सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि एवं रिब्दीकोट गाउँपालिका अध्यक्ष श्री नारायण बहादुर कार्कीले कार्यक्रमको समुदघाटन गर्नुभएको हो। कार्यक्रममा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख श्री सुनिल अधिकारीले कार्यक्रमले किशोरकिशोरीका मनोभावनालाई सकारात्मक बनाउन महत्वपूर्ण भुमिका खेल्ने साथै किशोरकिशोरीका स्वास्थ्य समस्यामा स्वास्थ्य शाखा सधैं अभिभावकका रुपमा रहने बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि नारायण बहादुर कार्कीले किशोरकिशोरी अवस्थामा विभिन्न किसिमका शारीरिक, मानसिक, सामाजिक एवं संवेगात्मक परिवर्तन किशोरकिशोरीहरुमा देखिने र यो सामान्य परिवर्तन भएकोले सो अवस्थामा किशोरकिशोरीहरुलाइ शिक्षा दिने जिम्मेवार सबै पक्षको भएकोले सम्बन्धित पक्षहरुलाइ सोही किसिमको शिक्षा प्रदानका लागि आग्रह गर्नुभयो। कार्यक्रममा जनप्रतिनिधि ,स्वास्थ्यकर्मी , महिला स्वास्थ्य स्वयंसेविका , स्थानीय वासिन्दा लगायतको उपस्थिति रहेको थियो।












