बागलुङको ढोरपाटन नगरपालिका–५ अस्तु बतासेडाँडामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ४ पुगेको छ । शुक्रबार साँझ ५ः४५ बजे बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका–५ चौर जाँदै गरेको लु प्र ०१००१ च १७७५ नम्बरको जिप दुर्घटना हुँदा ढोरपाटन नगरपालिका–२ की ७० नरबहादुर कार्की र सोही ठाउँकी ७५ वर्षीया भीमकुमारी बुढाको घटनास्थलमै मृत्यु भएको थियो ।
गम्भीर घाइते भएकी ढोरपाटन नगरपालिका–२ की २१ वर्षीया टीकाकुमारी कुँवरको बुर्तिबाङ प्रादेशिक अस्तालमा सामान्य उपचारपछि पोखरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो भने सोही वडाकी ७५ वर्षीया मनकुमारी थापाको पोखरास्थित मणिपाल अस्पतालमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक आनन्द बस्नेतले जानकारी दिएका छन । घाइतेहरुको मणिपाल अस्पताल पोखरा र मिसन अस्पताल पाल्पामा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । जिपमा १६ जना सवार थिए भने सडकदेखि करिब ६० मिटर तल जिप खसेको थियो ।













