पोखरा-पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा भागवत मञ्जरी राधिका दासीको प्रवचन सुन्न भक्तजनको भिड लागेको छ ।
कोटीहोममा हालसम्म १७ लाख बढी भक्तजन सहभागी भएको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । उनले भने, ‘शनिबार बिदाको दिन पनि परेको र राधिका दासीको प्रवचन सुन्न भक्तजनको उल्लास पुर्ण भिड देख्दा गण्डकीमा भएको यातायात बन्दले कोटीहोममा कुनै प्रभाव पारेन ।’
शनिबारदेखि श्रीमद्देवी भागवत प्रवचन शुरु गरेकी राधिका दासीले जेठ २६ गतेसम्म प्रवचन दिनेछिन् । राधिका दासीले आज संसारको सबै तीर्थ पोखरामा भएको बताइन् ।
उनले भनिन्, ‘मुक्तिनाथलाई शिरमा, गुप्तेश्वरलाई समीपमा, ताल बाराही माताको काँखमा बसेर दिनहुँ करोड हवन चलिरहेको ठाउँमा बसेर श्रीमद्भागवत कथा सुन्न पाउनु हामी सबैको अहोभाग्य हो ।’ यस्तो पुण्य अवसर कहीँ, कहिल्यै नआउने उनको जिकिर छ ।
उनले धर्मले सिकाएको बाटोमा हामी सबै हिंड्नुपर्ने कुरा धर्मले सिकाएको भन्दै धर्म छोडिएमा अनर्थ हुने र धेरै दुःख पाइने प्रवचनका क्रममा भनेकी थिइन् ।
जेठ २४ गते २१ करोड दीप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेको र एक सय कुण्डमा प्रयोग भएका इँटा लैजान चाहनेले सम्पर्क गर्न आग्रह गरिएको छ ।
कोटीहोममा तुला दान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराणम् (हरिवंश पुराण), कालसर्प योग पूजा, मङ्गल चतुर्थी व्रत उद्यापन, सप्त वार व्रत उद्यापन, एकादशी व्रत उद्यापन, अर्क विवाह, कुम्भ विवाह, माङ्गलिक शान्ति, ऋण मोचन पाठ, शनि मृत्युञ्जय पाठ, शक्ति पाठ, श्री सूक्त पाठ, संपुटक पाठ (चण्डी पाठ) जारी छ ।
साथै रोग निवारण पाठ, ग्रह सूक्त पाठ, दुःख निवारण पाठ, गणेश सहस्रार्चन, देवी सहस्रार्चन, विष्णु सहस्रार्चन, शिव सहस्रार्चन, सूर्य सहस्रार्चन, व्रत उद्यापन पूजा, अथर्व शीर्ष पाठ पारायण, १०८ आवृत्ति हनुमान चालिसा पाठ, सड्कटमोचन एवं वजरंगवाण पाठ, कलह निवारण, श्री सूक्त पाठ पारायण, भूमि दोष निवारण, दश महादान, अष्ट महादान, पञ्चधेनुदान, भूमिदान, गोदान, कवच पाठलगायतका अनुष्ठान तथा कर्म, पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि आफ्नो घर–परिवार तथा आफ्ना पितृको नाममा २१ कोटी दीप प्रज्ज्वलन, तुला दान गर्ने व्यवस्था रहेको उनले बताए ।












