पाल्पा ।
जन्मेपछि पाँच वर्षभित्रका बालबालिकाले लगाउनुपर्ने सबै खोप लगाएपछि पाल्पालाई पूर्ण खोप दीगोपना सुनिश्चितता जिल्लाको रुपमा घोषणा गरिएको हो ।
जिल्ला खोप समन्वय समिति पाल्पाका अनुसार जन्मेदेखि १५ महिनाभित्रका दुई हजार ९३७ जना बालबालिकाले सबै खोप लगाएका छन् । यस्तै १६ देखि ५९ महिनासम्मका १० हजार ५५३ बालबालिकामध्ये ६ जना बालबालिका ड्रप आउट देखिएपनि खोप नलगाएका बालबालिकाको सङ्ख्या शुन्य भेटिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख टुकप्रसाद पोखरेलले जानकारी गराउदै ड्रप आउट भएका बालबालिकालाई पूर्ण खोप प्रदान गर्ने सुनिश्चिचता गरिएको बताउनुभयो ।
घोषणा कार्यक्रममा बोल्दै प्रमुख अतिथि एबम लुम्विनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले स्वास्थ्य क्षेत्रको सूचकांङ्कमा सुधार ल्याउन सबै बालबालिकाले पूर्ण खोप पाउनुपर्नेमा जोड दिनुभएको थियो । खोप कार्यक्रम प्रभावकारी भएपछि त्यसले मातृ तथा शिशुको स्वास्थ्यमा उल्लेख्य सुधार ल्याउने मन्त्री सारुले बताउनुभयो ।
जिल्लालाई पूर्ण खोपयुक्त घोषणा गर्नुअघि पाल्पाका दश पालिका, ८१ वटा वडालाई खोपयुक्त घोषणा गरिएको थियो । कुनैपनि बालबालिकाले खोप लगाउन छुट नभएको दश वटा स्थानीय तह र ८१ वटा वडा घोषणा गरेपछि जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको हो ।
पाल्पालाई पहिलो पटक २०७० फागुन १३ गते देशभरिमै पहिलो पटक पूर्ण खोपयुक्त जिल्लाका रुपमा घोषणा गरिएको थियो । त्यसपछि लगातार पूर्ण खोपयुक्त जिल्लाको रुपमा घोषित हुँदै आएको खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले बताउनुभयो ।
कार्यक्रममा पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयानारायण सुवेदी, माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदी, नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ, तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले बालबालिकाले पाउनुपर्ने सबै खोप पाएपछि त्यसले स्वास्थ्य अवस्था सुधार हुने विस्वास व्यक्त गर्नुभयो ।












