राष्ट्रिय न्युज ।
पाल्पाको रामपुर नगरपालिकामा महिला र पुरुष भलिबल तथा फुटबल खेल सम्बन्धी प्रशिक्षण सुरु भएको छ । मेयर कप विविध खेलकुद प्रशिक्षण कार्यक्रम अन्तर्गत भलिबल तथा फुटबल खेल सम्बन्धी प्रशिक्षण सुरु गरिएको हो । रामपुर नगरपालिकाको आयोजना र नगर खेलकुद विकास समितिको सञ्चालनमा भएको प्रशिक्षण कार्यक्रमको शनिबार विधिवत रुपमा उट्घाटन गरिएको हो ।
कार्यक्रमको उट्घाटन गर्दै प्रमुख अतिथि रामपुर नगरपालिकाका प्रमुख रमण थापाले बालबालिकाको खेल प्रतिभा प्रस्फुटनको लागि प्रशिक्षण कार्यक्रमले महत्वपूर्ण टेवा दिने बताउनुभयो । पछिल्लो समय बालबालिकाहरु इन्टरनेटमा व्यस्त हुने गरेको बताउँदै बालबालिकालाई सृजनशिल र लगनशिल बनाउन खेलकुद महत्वपूर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा रामपुर नगरपालिका ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेल, कार्यपालिका शारदा आचार्य, नेपाली कांग्रेस रामपुर नगर कार्य समितिका सभापति नेत्र प्रसाद भट्टराई, नेकपा एमाले रामपुर नगर कमिटी उपाध्यक्ष विशाल श्रेष्ठ अशोक, नेकपा माओवादी केन्द्रका अध्यक्ष भिमविश्व भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि ईश्वर अधिकारी, नेकपा एकीकृत समाजवादीका अध्यक्ष फणेश्वर गौतम, राष्ट्रिय जनमोर्चा रामपुरका नगर अध्यक्ष रामप्रसाद गैरे, दरैठाँटी माविका प्रधानाध्यापक सुन्दर प्रसाद देवकोटा र नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष बन्दना पोखरेल शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै विद्यालय स्तर बाटै प्रशिक्षण सुरु गर्न सकियो भने प्रशिक्षण थप प्रभावकारी हुने बताउनुभयो ।
वक्ताहरुले खेलकुदले विद्यार्थीहरुको सर्वाङ्गिण विकासमा टेवा दिने बताउनु भएको थियो । भलिबल प्रशिक्षक राष्ट्रिय रेफ्री अनन्त प्रसाद श्रेष्ठले प्रशिक्षणको बारेमा जानकारी गराउनु भएको थियो । नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेनले विगतमा समितिले मेयरकप अन्तर्गत विभिन्न प्रतियोगिता सञ्चालन गर्दै आए पनि यस वर्ष प्रशिक्षणको माध्यम बाट नयाँ पुस्तालाई खेल प्रति जागरुक गराउन र खेलाडी उत्पादनका लागि प्रशिक्षण सुरु गरिएको बताउनुभयो । उहाँले फुटबल तर्फ ८ देखि १२ वर्ष सम्म र भलिबल तर्फ २० वर्ष मुनिकालाई समावेश गरिएको जानकारी दिनुभयो ।
आगामी जेठ २७ गते सम्म हुने प्रशिक्षणमा भलिबल प्रशिक्षण राष्ट्रिय भलिबल रेफ्री अनन्त प्रसाद श्रेष्ठले र फुटबलको प्रशिक्षण सरोज अधिकारी, अनिल शाही, एन्फा रेफ्री केशव श्रेष्ठ, कशम मल्ल ठकुरी र गुन बहादुर राम्जालीले प्रशिक्षण गरिरहनु भएको छ ।
नगर खेलकुद विकास समितिका सदस्य डोलराज श्रेष्ठको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन महासचिव राजु गुरुङले गर्नुभएको हो । नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेनको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको हो ।












