राष्ट्रिय न्युज ।
किशोर किशोरीहरुलाइ साइवर क्राइम लागु पदार्थ सेवन र आत्महत्या निरुत्साहन सम्बन्धि एक दिने सचेतना कार्यक्रम तानसेनमा सम्पन्न भएको छ।
सुचना प्रविधी प्रवर्द्धन केन्द्रको आयोजना तानसेन नगरपालिकाको सहकार्यमा कार्यक्रम गरिएको हो।
वर्तमान समयमा अति आवश्यक र महत्वपूर्ण विषयमा गरेको कार्यक्रम उपलब्धीमुलक बनेको बताउदै प्रमुख अथिति पालिकाका कार्यवाहक नगरप्रमुख प्रतीक्षा गाहा सिङ्जालिले प्रशिक्षणमा सिकेका कुरालाई आम नागरिकमा प्रचार गर्दै साइबर क्राइमको फन्दाबाट बच्न सबैलाई सु-सुचित गर्न सहभागीलाई सल्लाह दिनुभयो । साइबर अपराधको बारेमा पर्याप्त ऐन कानुन बन्न नसक्दा साइबर अपराध गरेका व्यक्तिहरुले पनि सहजै छुटकारा पाइरहेका अवस्थामा सावधानी पूर्ण सामाजिक संजालमा जोडिन र कुलत बाट बच्न जरुरी रहेको बताउनुभयो।आत्महत्याको मुख्य कारकको रूपमा डिप्रेसन पनि भएको उल्लेख गर्दै आफ्नो कमजोरी तथा असफलतालाई नकारात्मक सोच्न नहुने र असफलताले नै सफलताको मार्ग प्रशस्त गर्ने भएकोले सकारात्मक सोंचका साथ अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।
इन्टरनेटको प्रयोगमार्फत गरिने चरित्रहत्या,हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा,अर्काको पहिचान अनाधिकृत रुपमा प्रयोग, लगायतको चोरी साइबर क्राइम भित्र पर्ने हुँदा आगामी दिनमा यस्ता तालिम अझै सबै किशोरकिशोरीलाई समेट्ने गरी संचालन गर्ने प्रतिवद्धता जनाउनुभयो। ।
राष्ट्रका कर्णधार युवा भाइबहिनीहरूको सहभागिताले प्रतिबद्धता र सचेतना थपेको चर्चा गर्दै प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले , “यो कार्यक्रमको माध्यमबाट पाल्पाका आम नागरिकहरू कसैले पनि आत्महत्याको बाटो नरोज्न जीवन महत्वपूर्ण रहेको, जीवनको जन्म र सृष्टि राम्रा कार्यका लागि भएको भन्दै आफ्नो जीवनलाई अझै महत्वपूर्ण बनाउन, आफ्नो क्षमतालाई अभिबृद्धि गराऊन, अरुलाई सहयोग गर्ने काम गर्न आग्रह गर्नुभयो। ।सहभागी किशोरकिशोरीले समाजमा सचेतना जगाउन तथा आत्महत्याको घटनालाई न्यूनीकरण गर्ने र रोक्ने प्रतिवद्धता गर्न उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा आत्महत्या बढ्दो अवस्थामा रहेको र आत्महत्या हुनुका कारण तथा समस्याहरू पहिचान गरेर त्यस्ता घटनाहरू न्यूनीकरण गर्न सबै सरोकारवाला निकायहरुको समन्वय आवश्यक रहेको बताउनुभयो ।
पछिल्लो समय विश्वमा डिजिटल प्रविधिको युगले फड्को मारेसंगै नेपालमा पनि प्रविधिको उपयोग दिनानु दिन वृद्धि हुँदै गएको छ । यस प्रविधिमा किशोर किशोरीसंगै सबै उमेर समुहका मानिसहरु अभ्यस्त बन्न खोजिरहेका छन् । सामाजिक संजालको प्रयोग बढेसंगै साइबर अपराधका घटनाहरु पनि त्यतिकै बढ्दै गएका छन् । सामाजिक संजालको सदुपयोग भन्दा दुरुपयोग बढ्दा प्रविधिको प्रभावले भने सामाजिक संजालको चक्करमा फस्ने र अपराधिक गतिविधि उत्तिकै बढ्दो क्रम रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक पवन कुमार भट्टराईले बताउनुभयो । लागुऔषधको बढ्दो प्रयोगले समाजमा आपराधिक क्रियाकलापमा वृद्धि भएको उल्लेख गर्दै यस्ता आपराधिक क्रियाकलाप रोक्न नागरिक स्वयम सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
आजभोली इन्टरनेटको प्रयोग ह्वातै बढदै गएको र इन्टरनेटले एकातिर मानिसलाई विश्वव्यापी रुपमा जोडेको छ भने अर्कातिर यसले ठुलो असर पनि पुर्याएको बताउदै सामाजिक संजालमा प्रविधिको दुरुपयोग गर्दै गरिने मानहानी, ब्लायकमेल लगायतका कुराहरु यस्को प्रमुख कारण मानिने हुुँदा सबैले ख्याल राखेर प्रयोग गर्नु पर्नेमा पालिकाका प्रमुख प्रशासकिय अधिकृत पिताम्बर पाण्डेयले सजग गराउनुभयो ।
आत्महत्या पछाडि व्यक्तिको मानसिकतासँगै सामाजिक, आर्थिक र व्यक्तिगत कारणहरू हुने सक्ने चर्चा गर्दै प्रहरी इन्सपेक्टर सन्दीप बेल्बासेले समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरीले आत्महत्या रोकथामलाई सदैव प्राथमिकतामा राख्दै आएको बताउनुभयो । आत्महत्याको कारणहरू पहिल्याउँदै सम्बन्धित सरोकारवालाहरू सक्रिय भई आ-आफ्नो भूमिका अनुरूप उपयुक्त र प्रभावकारी हस्तक्षेप गर्न सकेमा आत्महत्याको दरमा कमी आउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमका अध्यक्ष सुचना प्रविधी प्रवर्द्धन केन्द्रका सस्थापक अनिलकिशोर घिमिरेले आत्महत्या रोकथाम तथा न्यूनीकरणको लागि विभिन्न सचेतना कार्यक्रम अत्यन्तै महत्वपूर्ण हुने चर्चा गर्दै उहाँले यस सचेतना कार्यक्रमले भोलिका देशका कर्णधार बालबालिकालाइ सामुदायिक क्रियाकलापमा सहभागिता, सकारात्मक सोंच को विकास होस भन्ने उदेश्यले केही प्रतिनिधिमुलक विद्यार्थिलाई सहभागी बनाइ अनुशिक्षण गरिएको बताउनुभयो ।
सचेतनामुलक कार्यक्रम नगरपालिका भित्रका ४० जना कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने किशोर किशोरीलाई साइवर क्राइम तथा इन्टरनेट र सामाजिक संजालको प्रयोग सम्बन्धमा तालिम दिइएको हो ।













