राष्ट्रिय न्युज।
'अटल सपना , निरन्तरको साधनाले सफलता हासिल गर्न सम्भव छ। 'लोक सेवा आयोगको परीक्षा उतीर्ण गरी नागरिक र राष्ट्रको सेवा गर्ने तिव्र लालसाका साथ विभिन्न पद र तहहरुमा बर्षेनि लाखौंको संख्यामा आवेदन आउने गर्दछन् र परिक्षामा सहभागी परिक्षार्थीमध्ये कति सफल त कति असफल हुने गर्दछन्। यिनै बिषयमा केन्द्रित रहेर नेपाल सरकारको शाखा अधिकृत छकलाल आलेसंग राष्ट्रिय न्युज डट कमका संवाददाता माधव पाण्डेले गरेको छोटो कुराकानी ।
#नेपाल सरकारको नवनियुक्त शाखा अधिकृतको रुपमा अहिले तालिमकै क्रममा हुनुहुन्छ ,कस्तो महसुस गर्दै हुनुहुन्छ ?
-आफुले सांचेका रहरले कयौँ वसन्तको प्रत्यागमन पछि अन्नत मुर्तरुप पाएकोमा पक्कै पनि खुसि र उमङ्गको अनुभूति त छ नै, अर्को अर्थमा एकातिर पढाईको बोझ बिसाउदा हलुका भएजस्तै महसुस भईरहेको छ भने अर्कोतिर पद र जिम्मेवारीको गहनताले मलाई गम्भीर पनि तुल्याएको छ।
#तपाईको पारिवारिक र समुदायको पृष्ठभूमिलाई संक्षिप्तमा बताईदिनुहोस् न?
-लाहुरे बाबा र सङ्घर्षशिल आमाको ठूलो परिवारमा कान्छा छोराको रुपमा ढोलीमारा भन्ने पाल्पाको सुदुर गाँऊमा जन्मेको हुँ। बाबाको साथ सानैमा टुट्दा पारिवारिक जिम्मेवारीलाई आफ्नो कांधमा लिएर दुख गर्दै आमाले हामीलाई हुर्काउनुभयो,पढाउनुभयो। म पढाईमा ठिकै,मध्यम विद्यार्थी थिएँ। म कक्षाको पुस्तकभन्दा अतिरिक्त पुस्तकमा बढी फोकस हुन्थेँ। मेरो बाल्यकाल गाँऊमै घाँसपात,धुलोमाटोमा नै बितेको थियो।समुदायमा मगर समुदायको बाहुल्यता थियो। सरकारी सेवामा प्रवेश गर्नेहरु शुन्यप्राय नै थियो।
#तपाईको निजामती सेवाको प्रवेश र सङ्घर्षको बारेमा जानौ न।
-उमेर दुई दशकको वरिपरि हुदा खरिदारमार्फत निजामती सेवामा प्रवेश पाएँ र जनप्रतिनिधिविहिन अवस्थामा गा.वि.स. मा सचिवको भुमिका निर्वाह गरे।२०७५ सालमा ना.सु. मा उतीर्ण भई लेखापाल भई विभिन्न कार्यालयमा सेवा गर्ने सुअवसर प्राप्त भयो। लामो समयको पर्खाई र मेहनतको फलस्वरुप २०८१ सालमा नेपाल सरकारको शाखा अधिकृत भई अहिले ब्याट-३९ को प्रशिक्षार्थी अधिकृतको रुपमा तालिममा छु।
४#अहिले नागरिक र राष्ट्रको सेवा गर्ने स्थानमा आफुलाई राख्दा सेवा प्रवाहका मुल मन्त्र केलाई मान्नुहुन्छ?
-महत्वपुर्ण सवालको लागि धन्यवाद।सेवा प्रवाहलाई चुस्त दुरुस्त र प्रभावकारी तुल्याउने सेवा प्रदायकको दायित्व र धर्म हो।म जहिले पनि निष्ठा र सेवाभावलाई नै केन्द्रविन्दुमा राखेर कामप्रति प्रेरित थिएँ। अब पनि यही मुलमन्त्रले मलाई मार्गदर्शन गर्नेछ।।
५#लोक सेवा आयोगको सफलताको श्रेय कसलाई दिन चाहनुहुन्छ ?
-आमाबालाई समर्पित गर्न चाहन्छु। मेरो परिवार र सिङ्गो समुदायको साथ समर्थन छ। सफलताको विशेष हकदार आमा हो। उहाँ हामीमाझ हुनुहुन्न तर म जे छु,उहाँ कै कारणले छु। अनि लोक सेवा आयोग पनि धन्यवादको पात्र हो,मलाई विश्वास गरेकोमा।
#लोकसेवामा युवाको आकर्षणलाई कसरी नियालीरहनुभएको छ?
-लोकसेवा आयोगमा कसैको पहँच र भनसुनबाट मुक्त विश्वासयोग्य संस्था हो। यसमा सफल हुनुमा विशुद्ध आफ्नो दम,क्षमता र मिहिनेतमा निर्भर गर्दछ।पछिल्लो समयमा युवाहरु विदेश पलायन भएको कुरा यथार्थ हो तर लोक सेवामा आकर्षक पनि बढीरहेकै पाउदछुँ।अहिले तीन तहको सरकार भएकोले विज्ञापन पनि धेरै खुल्छ।फेरि सूचना र प्रविधीको माध्यमबाट सूचना पनि पुग्ने भएकोले आवेदन दिनेको सङ्ख्या पनि बढेको जस्तो लाग्छ।निजामती सेवाको विशेषता र अवसरले पनि झुकाव हुने हो।बेरोजगारीको समस्या पनि विकराल छ नि।
#लोक सेवा उत्तीर्ण गर्न सकिने सजिलो सुत्र के होला?
-औषधीको जस्तै पेस्क्राईब गर्ने विज्ञ त म होईन।(हाँसो)तैपनि मेरो अनुभव र भोगाईको निर्क्यौलमा दिवारबिहिन सपना,सपनालाई प्राप्त गर्ने अन्तरसंस्करणबाटको दृढ अठोट,पराजयलाई परास्त गर्न सक्ने बलियो मानसिकता र सिलसिलायुक्त सिमारहित निरन्तरता होला।
#लोक सेवाको माहोल पछिल्लो समयमा यो क्षेत्रमा कस्तो देख्नुहुन्छ??
-ईमान्दारितापुर्वक भन्ने हो भने स्नातक सकिदासम्म मलाई लोक सेवमराबारेमा कुनै जानकारी थिएन।अहिले त पालिकाहरुमा लोक सेवाको अभिमुखीकरण कार्यक्रम हुन्छ।अहिले कम्तीमा सुसुचित हुने वातावरण छ।तर अझै पनि यो क्षेत्रमा सरकारी सेवामा प्रवेश गर्ने नगण्य नै छन्।हाम्रो भुमिका पनि यसमा हुनुपर्छ जस्तो लाग्छ।
#.लोक सेवा आयोग तयारीको थालनी गर्ने सोच बनाउदै गरेका र तयारी गर्दै गरेकाहरुलाई तपाईको सुझाव र सन्देश के छ?
-सुरुवातमा आफुले परीक्षा दिने पदसङ्ग सम्बन्धित पाठ्यक्रम बमोजिम सान्दर्भिक सामाग्रीको छनौट र अध्ययन गर्न,प्रमाणित र अध्यावधिक तथ्य,तथ्याकंमा केन्द्रित रहन,फरमेटमा आधारित अभ्यासहरु अधिकतम गर्न र परिक्षामा समयसिमा मै सबै प्रश्नको समाधान गर्न म सुझाव दिन चाहन्छु साथै सम्पुर्णलाई सफलताको शुभेच्छा समेत यही प्लेटफर्मको उपयोग गरि भन्न चाहेँ।जय लोक सेवा।धन्यवाद।












