पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा विभिन्न जात जातिका झाकी प्रदर्शन हुने छ । कोटिहोममा धर्मसँगै नेपालका विभिन्न जातजातिको संस्कृतिलाई उजागर गर्ने उद्देश्यका साथ झाकी प्रदर्शन गरिएको हो ।
हुन पनि कोटिहोममा आफ्नो जातीय संस्कृति प्रस्तुत गर्न पाइने र सगसगै ऐतिहासिक कोटिहोमको दर्शन गर्न पाईने भएकाले पनि देशभरबाट विभिन्न जातजातिहरू आफ्नो झाकी सहित कोटिहोममा आउने गरेको आयोजकले जनाएको छ ।
यसैबिच जेठ ४ गते आइतबार नवलपुरबाट थारु समुदायले विशेष प्रस्तुति लिएर आउन लागेको सांस्कृतिक झाकी प्रस्तुति संयोजक डा. तुलसी प्रभास खनालले जानकारी दिए । उनका अनुसार कोटिहोममा सहभागी हुन आउने थारुहरूले लाठी नाच, झमटा, झुमरा लगायतका झाकी सहितको नृत्य प्रस्तुत गर्ने छन् ।
त्यसै गरी जेठ १० गते शनिवार दक्षिण एसियाकै पहिलो पर्यटकीय गाउँ दरौँ सिरुवारिबाट स्थानीय जात जाति बाजा गाजा सहित झाकी प्रस्तुत गर्नेछ्न । उनीहरूले कोटिहोम विशेष गरी त्यहाँको थाली नृत्य प्रस्तुत गर्ने खनालले जानकारी दिए ।
महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजीले जेठ ३ गते शनिवार देशभरबाट ५ सय बढी बसमा कोटिहोममा भक्तजनको आगमन हुन लागेको जानकारी दिए ।
कोटिहोममा आज चर्चित गायिका एलिना चौहान र चर्चित लोकगायिकस राधिका हमालको पनि प्रस्तुति रहने प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।
कोटिहोममा जेठ २ गते लोकदोहोरी गायिका पूर्णकला बिसी, ३ गते देउडा गायक नन्द कृष्ण जोशी, ४ गते भजन गायक रमेश सापकोटा, ५ गते लोकदोहोरी गायक राजु ढकाल, ६ गते हास्य कलाकार मेरी बास्सैकी पल्पसा डङ्गोल ‘चम्सुरी’ र २४ गते महानायक राजेश हमालको सहभागिता रहने प्रचार प्रसार संयोजक ढकालले जानकारी दिए ।
त्यसै गरी ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षकमा जेठको ११ गते राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने आयोजकले जनाएकोछ।
कोटिहोममा चौरासी पूजन कार्यक्रम, सवा करोड पार्थिव शिवलिड्डको निर्माण गरी भगवान् शिवको आशीर्वाद प्राप्त गर्ने महत्त्वपूर्ण कर्म, १८ पुराण, ४ वेद र १०८ श्रीमदभागवत पाठ पारायण श्रवण साथै वेद, पुराण र भागवत मध्ये कुनै एकको कर्ता बन्ने अवसर, भूमि पूजनका लागि आफ्नो घरमा जमिनको एक मुठी माटो ल्याई भूमि पूजन जस्तो महत्त्वपूर्ण कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।
त्यसै गरी पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सु–स्वास्थ्य र समृद्धिका लागि आफ्नो घर परिवार तथा आफ्ना पितृहरूको नाममा २१ कोटि दीप प्रज्वलन गर्ने, तुला दान कर्मका लागि आफ्ना पूजनीय आमाबुवाहरूलाई तुला दानका लागि कोटिहोम स्थलमा सहभागी गराउने, वैवाहिक जीवनमा जोडिन इच्छुक सबैलाई शुभ विवाह कार्यक्रम, रुद्राभिषेक महा अनुष्ठान, अति रुद्री, लुघुरुद्री आदि पुण्यमयी कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।
कोटिहोममा जेठ १४ देखि २२ गतेसम्म प्रसिद्ध कथा वाचिका राधिका दासी, श्रीराम कथा वाचिका देवी चन्द्रकला सखी, दार्शनिक प्रवचनकर्ता चैतन्यकृष्ण महाराज सहभागी हुने महायज्ञ मूल आयोजक समितिका सह निर्देशक युवक लामिछानेले जानकारी दिएका छ्न।
पोखरास्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भैईरहेको छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुने छ ।












