पाल्पा, १९ बैशाख ।
‘सूचना प्रविधिको अभियान, डिजिटल नेपालको निर्माण’ भन्ने नाराका साथ शुक्रबार तानसेनमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइएको छ । कम्प्युटर एशोसियशन अफ नेपाल (क्यान) महासंघ पाल्पा शाखाले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को सन्दर्भमा पाल्पामा प्रभातफेरी कार्यक्रम आयोजना गरेको हो ।
तानसेनको हुलाक कार्यालय चोकबाट सुरु भएको प्रभातफेरी विशालबजार, सिल्खानटोल, टक्सार, भगवतीटोल हुँदै सिलपाटीमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै क्यान लुम्बिनी प्रदेश पूर्व सहसचिव भोजराज भट्टराईले वर्तमान समयमा सूचना प्रविधिको क्षेत्र फराकिलो हुँदै गएकोले प्रविधिलाई उद्यमसिलतासँग जोड्दै अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो । उहाँले सिकाईलाई जीवन व्यहारमा प्रयोग गर्दा प्रविधिले आर्थिक, सामाजिक क्षेत्रको विकास गर्ने भएकाले प्रविधिको सिकाईलाई रोजगार र आयआर्जनसँग जोड्नुपर्नेमा जोड दिनुभयो ।
क्यान महासंघ पाल्पा शाखा अध्यक्ष सुदिप पौडेलले नेपाल सरकारले प्रत्येक वर्ष मे २ गतेको दिनलाई राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको रूपमा मनाउँदै आएको जानकारी दिदैँ पाल्पामा विगतका वर्षदेखि नै दिवसको अवसरपारेर सूचना प्रविधि सम्बन्धी सचेतना, प्रभातफेरी र अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन हुँदै आएको बताउनुभयो । उहाँले प्रभातफेरीमा सहभागी कार्यसमिति पदाधिकारी, प्रशिक्षार्थीलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा क्यानले थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै जाने जानकारी दिनुभयो ।
कार्यक्रममा क्यान महासंघ लुम्बिनी प्रदेश सदस्य थमन बहादुर थापा, सल्लाहकार धर्मेन्द्र गुप्ता, पूर्व पाल्पा अध्यक्ष अर्जुन घिमिरे, कार्यसमितिका पदाधिकारी, विभिन्न संस्थामा प्रशिक्षण लिने विद्यार्थी, सुरक्षाकर्मी, सूचना प्रविधि क्षेत्रमा आवद्ध संस्थाका प्रतिनिधि, सुरक्षा कर्मी लगायतको सहभागिता रहेको थियो । क्यान महासंघ पाल्पा २०७० सालमा स्थापना भई सूचना प्रविधि क्षेत्रमा निरन्तर सक्रिय सामाजिक संस्था हो । हाल महासंघ जिल्ला शाखामा संस्थागत र व्यक्तिगत गरी ४० बढी सदस्यहरू आवद्ध रहेका छन् ।












