पाल्पा, जिल्लाको तिनाउ गाउँपालिकामा एक पुरुषको शव फेला परेको छ । तिनाउ गाउँपालिका– ३ तिलोत्तमा रहेको सामुदायिक वनको आँपखोलाको किनारमा विहिबार सडेगलेको अवस्थामा एक पुरुषको शव फेला परेको हो ।
चिन्न नसक्ने अवस्थामा स्थानीयले शव देखेपछि दोभानका प्रहरीलाई खबर गरेका थिए । शव सडेगलेको अवस्थामा रहेकाले प्रहरीको प्रारम्भिक अनुसन्धानपछि पोष्टमार्टमको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल प्रधानले जानकारी दिनुभयो ।
शरीरको सम्पूर्ण भाग सडि गली करङको भाग तथा हड्डी र कंकाल मात्र रहेको अवस्थामा शव फेला परेको थियो । हरियो, कालो र सेतोमा चेक भएको फुल बाहुले स्विटर लगाएको, भित्र पट्टी पहेलो रङ्गको स्विटर र कालोमा सेतो मसिनो धर्का भएको पाइन्ट, भित्र सेतोमा कालो बुट्टा भएको कट्टु समेत लगाएको पुरुषको शव भेटिएको हो ।












