काठमाडौं, २९ चैत ।
काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक घटनाका मुख्य आरोपी ब्यवसायी दुर्गा प्रसाईलाई १२ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । उनीमाथि अनुसन्धान गर्न शुक्रबार प्रहरीलाई १२ दिनको म्याद दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।
साथै, जिल्ला न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले उनी क्यान्सरको बिरामी भएकाले उपचारको उचित प्रबन्ध गर्न निर्देशनात्मक आदेश समेत दिएका छन् । शुक्रबार झापाको बिर्तामोडबाट पक्राउ परेका प्रसाईलाई आजै झापाबाट काठमाडौँ ल्याएर अदालतमा म्याद थपका लागि उपस्थित गराएको थियो ।
चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शन प्रसाईंकै नेतृत्वमा भएको थियो । प्रदर्शनमा २ जनाको ज्यान गएको थियो भने दर्जनौं घाइते भएका थिए । त्यस क्रममा करोडौंको क्षति भएको थियो । दर्जन बढी भवन र सवारी साधनमा तोडफोड र आगजनी भएको थियो । प्रसाईं सोही दिनदेखि फरार थिए। उनले सामाजिक सञ्जालबाट भिडिओ सार्वजनिक गर्दै आफू काठमाडौंमै रहेको बताउँदै आएका थिए।





