पाल्पा । रिब्दीकोट गाउँपालिकाले दलित तथा जनजाति समुदायका युवाहरूलाई लक्षित गर्दै ३५ दिने निःशुल्क ड्राइभिङ तालिम सञ्चालन सुरु गरेको छ । गाउँपालिकाका बेरोजगार युवाहरूलाई सीपमूलक तालिमद्वारा रोजगारमुखी बनाउनु उदेश्यका साथ सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

बेरोजगार युवाहरुलाई स्वरोजगार तथा रोजगारका अवसर सिर्जना गर्न निशुल्क ड्राइभिङ तालिम यही चैत २७ गतेदेखि औपचारिक रूपमा सुरु गरिएको छ। कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले ,गाउँपालिकाका युवाहरूलाई दक्ष बनाउँदै रोजगारीको अवसर सिर्जना गर्नु नै हाम्रो लक्ष्य हो,” “यो तालिमले युवाहरुलाई सीप प्रदान गर्नुका साथै उनीहरूलाई रोजगार र स्वरोजगारमा जोड्ने दिशामा महत्वपूर्ण कदम हुनेछ ।” साथै गाउँपालिकाको पहलमा सञ्चालित यो तालिमले सहभागी युवाहरूलाई व्यावसायिक ड्राइभरका रूपमा अगाडि बढ्न सहयोग पुग्ने विश्वास लिइएको उनले बताउनु भयो ।
तालिम रिब्दीकोट गाउँपालिकाको प्रतिवद्धता अनुसार नै गाउँपालिकाले गरीबी तथा बेरोजगार समस्या हल गर्न यो तालिम सञ्चालन गरिएकोले महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत मणि प्रसाद खनाल, वडा नं. २ का अध्यक्ष ओम प्रसाद पोखरेल, कार्यपालिका सदस्य गोमा थापा लगायतको उपस्थिति रहेको थियो ।
रिब्दीकोट गाउँपालिकाले गाउँपालिका भित्रका बेरोजगार युवाहरूलाई लक्षित गर्दै ३५ दिने निशुल्क ड्राइभिङ तालिम सञ्चालन गर्न लागेको पालिकाले जनाएको छ ।






