काठमाडौं । चैत १५ गते शुक्रबार काठमाडौंको तिनकुनेमा सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको हिंसात्मक घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कानुनी दायरामा ल्याई हदैसम्मको कारबाही गरिने सरकारका गृहमन्त्री रमेश लेखकले बताउनुभएको छ।
यही चैत १५ गते शुक्रबार काठमाडौंको तिनकुनेमा सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको हिंसात्मक घटनाको निष्पक्ष छानविन गरी दोषीलाई हदैसम्मको कारवाहीलागि नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहाल नेतृत्वको टोलीले आज मन्त्रालयमा दिएको ध्यानाकर्षणपत्र बुझ्दै गृहमन्त्री लेखकले अराजक, हिंस्रक एवम् सिद्धान्त बिनाको भिडले तिनकुनेमा वितण्डा मच्चाएको घटनाप्रति सरकार गम्भीर रहेको समेत बताउनुभएको छ। साथै दोषी कसैले पनि उन्मुक्ति नपाउने उल्लेख गर्नुभयो।
“तिनकुनेमा भएको अराजक भिडको कुनै निश्चित वाद, सिद्धान्त नभई अपराधिक कार्य गर्ने उद्देश्यले रहेको बताउनुभयो। तिनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजक र अन्य घाइते पत्रकारका विषयमा गम्भीर भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले उक्त विषयमा के गर्न सकिन्छ भन्ने विषयमा सरकार लागिरहेको समेत बताउनुभयो ।
महासचिव दाहालले तिनकुने घटनामा परी एक फोटो पत्रकारको ज्यान गएको र सञ्चारगृहहरूमाथि हमला भएको घटनाको निष्पक्ष छानविन गरी दोषी पक्षलाई हदैसम्मको कारवाही गर्न अनुरोध गर्नुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।













