तानसेन– विशेष नापी कार्यालय तानसेन, पाल्पाको आयोजनामा पालिका स्तरीय पुनः नाप नक्सा सम्बन्धी अभिमुखीकरण कार्यक्रम रिब्दिकोट गाउँपालिकामा सम्पन्न भएको छ।
पालिका स्तरीय पुनः नाप नक्सा सम्बन्धी अभिमुखीकरणमा, गाउँपालिकाका प्रतिनिधिहरू, स्थानीयवासी तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो। अभिमुखीकरण कार्यक्रममा पालिकास्तरका सरोकारवालालाई डिजिटल नापी सम्बन्धी जानकारी गराउदै हालसम्म भएका कामबारे जानकारी दिइएको थियो । रिब्दीकोटगाउँँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले नापीको कामलाई सहज बनाएर समयमा काम सम्पन्न गर्नका लागि पालिका सधैं तत्पर रहेको उल्लेख गर्दै नागरिकलाई सहज रुपमा पूर्जा वितरणका लागि आवश्यक समन्वय गर्न पालिका सधैं सकारात्मक रहेकोे बताउनुभयो । विशेष नापी कार्यालयका प्रमुख पूर्णप्रसाद पाण्डेयले २०८२ भित्र सबै वडामा नापी सक्नेगरी काम भएको जानकारी दिनुभयो ।
कार्यक्रम गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनाल, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यलगायतले नाप नक्सा सम्बन्धी अभिमुखिकरण कार्यक्रमले आफ्नो क्षेत्र र वडामा हुने कामलाई सहजीकरण गर्ने धारण व्यक्त गर्नुभएको थियो ।
रिब्दीकोटका ८ वडामध्ये २ वडा बाहेक अन्यमा नापीको काम सञ्चालनमा रहेको छ भने केही वडाको भने नापी सम्पन्न गरि पूर्जा वितरणसमेत भएको हुँदा स्थानीय सरकार र जनप्रतिनिधिसंगको समन्वयमा छिटो काम सम्पन्न गर्ने कार्यालयले जनाएको छ ।
अभिमुखीकरण कार्यक्रममा भूमिको स्वामित्व, सीमांकन, रेकर्ड व्यवस्थापन तथा भविष्यमा हुन सक्ने विवाद समाधान विषयमा छ्लफल गरिएको थियो। विशेषज्ञहरूबाट पुनः नाप नक्साको प्रविधि, कानुनी पक्ष, तथा व्यावहारिक पक्षहरूबारे विस्तृत जानकारी गराइएको थियो भने स्थानीय तहका प्रतिनिधिहरूले कार्यान्वयन प्रक्रियालाई प्रभावकारी बनाउनेतर्फ सुझाव प्रस्तुत गरेका थिए।













