पाल्पा - किसानलाई प्रोत्साहन गर्न रिब्दिकोट गाउँपालिकाले अनुदान दिने तयारी गरेको छ । पाल्पा जिल्लाको रिब्दिकोट गाउँपालिकाले हल गोरु पालन गरि खेतबारीमा खनजोत गर्दै पुरानै कृषि पेशामा लागेका किसानलाई प्रोत्साहन गर्दै पालिकाले नगद अनुदान दिने तयारी गरेको हो ।
अनुदानका लागि गाउँपालिकाले ८ वडाका २९८ किसानलाई छनौट गरेको छ । गत वर्ष वडा नं. १ का हल गोरु पाल्ने किसानलाई गाउँपालिकाले दुई हजार पाँच सय रुपियाँदेखि पाँच हजार रुपियाँसम्म अनुदान दिएको थियो ।
गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले गाउँमै बसेर कृषि पेशामा आवद्ध किसानलाई हौसला प्रदान गर्न नगद अनुदानको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । साथै कार्किले नयाँ हलगोरु किनेर ल्याउने किसानले पाँच हजार र पुराना किसानले दुई हजार पाँच सय रुपियाँ पाउने समेत बताउनुभयो । गाउँपालिकाका प्रवक्ता प्रकाश रायमाझीले किसानका घरमा अनुगमनपछि मात्र अनुदान दिने अन्तिम निर्णय गरिने बताउनुभयो ।
साथै तिब्र बसाइसराई रोक्न किसानलाई प्रोत्साहन गर्न कार्यक्रम ल्याएको जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत मणीप्रसाद खनालले किसान छनौट गरेर दानामा अनुदान दिने तयारी भइरहेको मणीप्रसाद खनालले बताउनुभयो ।
हल गोरु अनुदान कार्यक्रमका लागि वडा नं. १ बाट २५ जना, वडा नं. २ बाट ६ जना, वडा नं. ३ बाट ४ जना, वडा नं. ४ बाट २८ जना किसान छनौट भएका छन् । यस्तै वडा नं. ५ बाट १२, वडा नं. ६ बाट ९२, वडा नं. ७ का ३३ जना र वडा नं. ८ मा एक सय जना किसान छनौट भएको गाउँपालिकाले जनाएको छ ।














