बासुदेव ढकाल माघ २७ पाल्पा।
पाल्पाको रामपुरमा भएको चौथो रामपुर महोत्सव कप २०८१ को उपाधि नेपाल पुलिस क्लवले प्राप्त गरेको छ । क्लव स्तरीय भलिबलको उपाधि पुलिस क्लवले हात पार्न सफल भएको हो । उपाधिको लागि शनिबार भएको फाइनल खेलमा नेपाल एपीएफ क्लवलाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि विजेता बन्न सफल भएको हो ।
फाइनल खेलमा पुलिस क्लवले पहिलो सेट २५-२१, दोस्रो सेट २५-१२ र तेस्रो सेट २५-२२ अंक सहित आफ्नो पक्षमा पार्दै चौथो रामपुर महोत्सव कप २०८१ उपाधि चुम्न सफल भएको हो भने नेपाल एपीएफ क्लव दोस्रो उपाधिमा चित्त बुझाउनु पर्यो । चौथो रामपुर महोत्सव तथा व्यापार मेलाको अवसरमा आयोजित प्रतियोगितामा नेपाल त्रिभुवन आर्मी क्लवले तृतीय स्थान हासिल गरेको छ । तृतीय स्थान छनौटका लागि भएको खेलमा त्रिभुवन आर्मीले निस्दी भलिबल क्लवलाई ३-१ सेटले पराजित गरेको हो । पहिलो, तेस्रो र चौथो सेट आर्मीले २५-२१, २५-१९ र २५-१९ सेटले हात पारेको थियो । निस्दीले दोस्रो सेट २५-१९ अंक सहित हात पारेको थियो । निस्दी क्लव सान्त्वनामा स्थानमा चित्त बुझाउन परेको छ। प्रतियोगिताको विजेता मध्ये प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समुहले क्रमशः नगद दुई लाख २२ हजार २२२ रुपियाँ, एक लाख ५५ हजार ५५५ रुपियाँ, एक लाख एक हजार १११ रुपियाँ र ५५ हजार ५५५ रुपियाँ सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगितामा वेष्ट प्लेयर पुलिस क्लवका रेशम छन्त्याल, वेष्ट डिफेण्डर नेपाल एपीएफ क्लवका विनोद चन्द, वेष्ट सर्भर पुलिस क्लवका पहल गहतराज, वेष्ट ब्लकर पुलिस क्लवका सफल विक, वेष्ट सेटर नेपाल एपीएफ क्लवका दिपेश कुँवर, वेष्ट स्पाईकर त्रिभुवन आर्मी क्लवका धन बहादुुर भट्ट र वेष्ट कोच पुलिस क्लवका चन्द्र कुँवर घोषित हुनुभएको छ । विजयी समूहलाई लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठ, रामपुर नगर प्रमुख रमण बहादुर थापा, अन्तराष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप राना, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले पुरस्कार हस्तान्तरण गर्नु भएको थियो । प्रतियोगितामा विभागिय टिम त्रिभुवन आर्मी क्लव, नेपाल एपीएफ क्लव, नेपाल पुलिस क्लव, मणिमुकुन्द भलिबल क्लव र निस्दी भलिबल क्लव गरी ५ समूहको सहभागीता रहेको थियो ।
गत माघ २१ गते देखि सुरु भएको प्रतियोगिता रामपुर उद्योग वाणिज्य संघको आयोजना, रामपुर नगरपालिकाको संरक्षण, जिल्ला भलिबल संघको सहआयोजना, नगर खेलकुद विकास समिति रामपुर र रामपुर भलिबल संघको समन्वयमा भएको खेल संयोजक कमल रानाले जानकारी दिनु भएकोछ।












