माघ २२,पाल्पा - पाठेघर मुखको क्यान्सर विरुद्धको खोप अभियानको कार्यक्रम माथागढी-सराइमा रहेको दिव्यज्याेति नमुना मावि मा अभियानको उद्घाटन कार्यक्रम संचालन भएको छ। पाल्पाका दस स्थानीय तहका बिध्यालय जाने कक्षा ६ देखि १० सम्मका साथै स्कुल नजाने १० बर्ष देखि १४ बर्षसम्म उमेर समुहका १० हजार ४५८ जनालाइ खोप लगाइदै छ। पाल्पामा एचपिभी खाेप अभियान सुरू उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले लक्षित छात्राहरू नछुट्ने गरी खोप अभियान सञ्चालन गर्न आवश्यक रहेकाे साथै पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको खोपले समग्र क्यान्सरको दरलाई घटाउन सहयोग पुर्याउने बताउनुभयाे ।
कार्यक्रममा पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयानारायण सुवेदीले बिध्यालय जाने कक्षा ६ देखि १० सम्मका वा देखि छात्राहरू र स्कुल नजाने १० देखि १४ बर्ष सम्मका बालिकाहरुलाइ ढुक्क भएर खोप कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभयो । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका अधिकृत विश्वनाथ न्यौपानेले खोप अभियानले आगामी दिनमा महिलामा हुने क्यान्सरको सङ्ख्यामा कमी आउनुका साथै उपचार खर्च समेत बच्ने बताउनुभयो । माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले एचपिभी खाेप राज्यकाे लगानीमा भएकाे उत्कृष्ट कार्यक्रम रहेकाे बताउनुभयाे ।
पाठेघरकाे मुखकाे क्यान्सर भएर महिलाहरू धेरै पीडित हुनुपरेकाले सरकारले एचपिभी खाेप अभियान चलाएकाे उहाँकाे भनाइ छ ।कार्यक्रम माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीकाे अध्यक्षता र स्वास्थ्य शाखाका प्रमुख केशव जिसीकाे संचालनमा भएकाे थियाे ।
मङ्गलबारदेखि सुरु भएको अभियान फागुन ६ गतेसम्म सञ्चालन हुनेछ ।
स्वास्थ्य कार्यालय पाल्पाका अनुसार आज माघ २२ गतेदेखि २७ गतेसम्म रामपुर नगरपालिका, निस्दी, पूर्वखोला, रम्भा र माथागढी गाउँपालिकाका छात्राहरूलाई खोप लगाइँदैछ। दोस्रो चरण अन्तर्गत माघ २८ देखि फागुन ६ गतेसम्म तानसेन नगरपालिका, बगनासकाली, रिव्दीकोट, तिनाउ र रैनादेवी छहरा गाउँपालिकाका विद्यालयमा अध्ययनरत छात्राहरूलाई खोप लगाइने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुकप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
पाल्पाका जिल्लाका विद्यालयमा २०४ वटा र विद्यालयमा साथै बिध्यालय नजानेकाहरुका लागि ३१ वटा खोप केन्द्र रहने पोखरेलले जानकारी दिनुभयो । पाल्पामा विद्यालयमा जानेबाहेक थप ७० जना विद्यालय बाहिरका किशोरीलाई खोप लगाउने कार्यक्रम रहेको छ ।













