पाल्पा -पाल्पाको तानसेन नगरपालिकाले “सीप विकास तालिम संचालन कार्यविधि २०८१“निर्माण गरेको छ।
तानसेन नगरपालिका तानसेनमा स्थानीय सरकारले नतिजा तथा कार्यसम्पादनमा आधारित भुक्तानी प्रणाली अबलम्बन गरी व्यावसायिक सीप विकास तालिम संचालन गर्न आवश्यक कार्यविधि तयार गरि “सीप विकास तालिम कार्यविधी २०८१ बनाएको हो।
गत कार्तिक २९ गते नगरपालिकाको बोर्ड बैठकमा नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु, रोजगार, शिक्षा युवा तथा खेलकुद ,कृषि र सामाजिक विकास शाखाका प्रमुख सहित घरेलु तथा साना उद्योग कार्यालय, साथै विभिन्न सरोकारवाला संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सुझावका आधारमा कार्यविधि बनाएको थियो। नगरप्रमुख सन्तोषलाल श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय समिति समेत गठन गरेको छ।
शिक्षालाई सीप, सीपलाई श्रम, श्रमलाई उत्पादन र उत्पादनलाई बजारसङ जोड्नको लागि सिपयुक्त्त रोजगारमुलक व्यवसायिक शिक्षालाई जोड दिने मुख्य उद्देश्य रहेकोे तानसेन नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख कोपिला न्यौपानेले बताउनुभयो। छोटो अवधिका व्यावसायिक सीप तालिमलाई स्थानीय सरकारको आगामी नीति तथा कार्यक्रमहरुमा दिर्घकालिन ढाँचा तयार गरी संस्थागत गराउनका लागि तालिम र नतिजाको नियमित तथा प्रभावकारी अनुगमन प्रणाली सहितको कार्यविधि निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेले बताउनुभयो ।
नगरपालिकाका उपप्रमुख प्रतीक्षा गाहा सिङ्जालिले व्यावसायिक सीप विकास तालिम कार्यान्वयन तथा अनुगमन मार्गनिर्देशिका बारे छलफल तथा पृष्ठपोषण सत्र संचालन गरी कार्यक्रमको संक्षेप तथा कार्ययोजना निर्माण गरिएको जानकारी दिनुभयो ।अध्यक्ष श्रेष्ठले संघीयता र प्राविधिक तथा व्यावसायिक शिक्षा प्रणालीमा स्थानीय सरकारको भूमिकावारे सहज तरिकाले कार्यसम्पादन गर्न कार्यविधी बनाएको बताउनुभयो । साथै उहाले सो प्रणाली अवलम्बन गरी स्थानीय बेरोजगार युवाहरुलाई स्थानीय मागकै आधारमा विभिन्न सीप प्रदान गरी रोजगारीको सुनिश्चितता सहित कार्यक्रम संचालन गरिने बताउनुभयो ।
यसअघि पनि सीपमूलक तालिमहरु संचालन हुनेगरेको भएपनि यस साझेदारी कार्यक्रममा रहेको नतिजा तथा कार्यसम्पादनमा आधारित भुक्तानी प्रणाली, नियमित तथा प्रभावकारी अनुगमन, राष्ट्रिय परीक्षा बोर्डबाट सीप परीक्षण गरि प्रमाणपत्र उपलब्ध गराइने जसले देशभित्रै वा देशबाहिर पनि दिगो तथा सम्मानित रोजगारी तथा व्यवसाय गर्न सक्ने भएकोले यस सम्बन्धी कार्यविधि पारित गरी नगरका बेरोजगार युवायुवतीहरुलाई आम्दानीमा जोड्न आगामी तालिमहरु संचालन गर्न उत्साहित रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ। गत मङलबार प्रमाणिकरण भएसङै अझै बढी कार्यक्रम संचालन गर्न बाटो खुलेको छ।












