राष्ट्रिय न्यूज पाल्पा। प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको बगनासकाली गाउँपालिकाको प्रशासकीय भवनको आज भर्चुअलरुपमा उद्घाटन गर्नुभएको छ।
प्रधानमन्त्री ओली आज कार्यक्रमस्थलमै आएर उद्घाटन गर्ने कार्यक्रम रहे पनि स्वास्थ्य प्रतिकूलताका कारण भर्चुअलरुपमा उद्घाटन गर्नुभएको हो।
प्रधानमन्त्री ओलीले उर्वर भूमि बगनासकाली गाउँपालिकाको कार्यक्रमस्थल चिर्तुंगधारामा आउने र पाल्पाली जनतासँग भेटघाट गर्ने चाहना हुँदाहुँदै रुघाखोकी लागेका कारण प्रत्यक्ष उपस्थित हुन असमर्थ भएको जानकारी गराउनुभयो ।
उहाले प्रशासकीय भवनबाट स्थानीय जनताले अझ राम्रो गरी सेवा पाउने र नयाँ अनुभूति मिल्ने गरी काम गर्न आग्रह गर्नुभयो । उहाले पाल्पा एक ऐतिहासिक, रमणीय र देश जोगाउन भूमिका खेल्ने जिल्ला भएकाले यस प्रकारको छविलाई यहाँका जनताले कायमै राख्ने विश्वास व्यक्त गर्दै आफूहरूले सुरु गरेका सिद्धबाबा सुरुङलगायत विकास निर्माणका काम आफूहरूकै पालामा सम्पन्न गर्ने गरी काम भइरहेको पनि बताउनुभयो ।
उहाले खनिज तत्त्वको प्रयोगमा पाल्पा अगाडि रहेको र कृषिमा उद्यमशीलता एवं समग्र विकासमा यो जिल्ला थप अग्रसर हुने अपेक्षा गर्नुभयो ।
पाल्पा क्षेत्र नं २ का सांसद तथा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापति समेत रहनु भएका ठाकुर प्रशाद गैरेले साघुरो भवनबाट विभिन्न समस्या भोगेर दिदै आएको सेवा अहिले सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह गर्दा सेवाग्राही र कर्मचारीलाइ सहज हुने विश्वास व्यक्त गर्नुभयो।
लुम्बिनि प्रदेससभा सदस्य वीर बहादुर रानाले पालिकाका सबै वडालाइ पायक पर्ने ठाउमा प्रशासकिय भवन निर्माण भएको बताउनुभयो।उहाले जनताले नयाँ अनुभूति लिने गरी काम गर्न आग्रह गर्नुभयो ।
उद्घाटन कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले पालिकामा प्रशासकिय भवनको निमार्ण सम्पन्न भएकोले गाउँपालिकाले दिने सेवा प्रवाह सहज हुने बताउनुभयो । उहाले सबै स्थानीय तहलाई सुविधा सम्पन्न गराउनको लागि ६०/४० को अवधारणा अनुसार कार्यान्वयन गरेको बताउनुभयो ।
विशिष्ट अतिथि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पाल्पाको विकासको अवस्थाबारे जानकार रहेको बताउदै सिद्धार्थ राजमार्गको स्तरउन्नती हुने , कालिगण्डकी ड्राईभर्सन गर्ने योजनाले पनि पाल्पाको विकासमा मद्दत पुग्ने बताउनुभयो।बगनासकाली गाउँपालिकाको भवन निर्माण न्यू ड्रयागन आर एण्ड आर जेभीले २०७८ फागुन ८ गते निर्माण सुरुगरि २०८० फागुन २ गते निमार्ण सम्पन्न गरेको थियो
।कार्यक्रममा पालिकाका अध्यक्ष सरस्वती दर्लामी चिदिले प्रशासनिक भवन निर्माण गर्न सहयोग पुर्याउने विभिन्न संघसस्था,स्थानीय,कर्मचारी लगायत सबैलाई धन्यवाद व्यक्त गर्दै पालिकाका समग्र अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो। नवनिर्मित गाउँपालिकाको ४ तले भवनमा १९ वटा कोठा रहेका छन् । भवन निमार्ण गर्नका लागि भ्याटबाहेक ५ करोड ६७ लाख ४९ हजार १४७ रुपैयाँ लगानी लागेको छ ।
कार्यक्रम पालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकको स्वागत,प्रमुख प्रशासकीय प्रमुख खेमराज छिनालको संचालनमा सम्पन्न कार्यक्रममा विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि,राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि,पालिका भित्रका विद्यालयका शिक्षक ,विद्यार्थी,स्थानीय स्काउट, सुरक्षा निकाय,पत्रकार ,स्थानीय नागरिक लगायतको उल्लेख्य सहभगिता रहेको थियो।













