माथागढी पाल्पा – माथागढी गाउँपालिकामा छैटौं राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता सराइ खेल मैदान सराइमा सुरु भएको छ । बिहीबारदेखि सुरु भएको प्रतियोगितामा पालिकाभित्रका १५ वटा विद्यालयका विद्यार्थीहरूले भाग लिएका छन् ।
प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभाका सदस्य नारायणप्रसाद आचार्यले गर्नुभएको हो । सो अवसरमा उहाँले विद्यार्थीमा अनुशासन र एकताको भावना जागृत गराउन खेलकुद प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो । आचार्यले माथागढीले विगतमा पनि जिल्लास्तरीय खेल सञ्चालन गर्न सफल भएको उल्लेख गर्नुहुँदै पालिकाभित्रका विभिन्न विद्यालयहरूका बीचमा हुने प्रतिष्पर्धा सानदार रुपमा सम्पन्न हुने विस्वास गर्नुभयो । उहाँले सराइ क्षेत्रमा खेल क्षेत्रकाे पूर्वाधार निर्माण गरेर अगाडि बढ्न सकिने भएकाले त्यसका लागि पहल भइरहेकाे जानकारी दिनुभयाे ।
माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले माध्यमिक तहका विद्यार्थीहरूले विभिन्न खेलमा प्रतिष्पर्धा गरेर आफूलाई अब्बल सावित गर्न आग्रह गर्नुभयो । पालिका स्तरीय प्रतिष्पर्धापछि जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरमा खेलाडीले सहभागी हुन पाउने साथै खेलबाट अनुशाशन थालनी हुने जिकिर गर्नुभयो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा जिल्ला अध्यक्ष कमलराज तिमिल्सिनाले खेलकुद प्रतियाेगिताले खेलाडी र दर्शकमा समेत राष्ट्रिय भावना एकीकृत गर्न सहयोग पुग्ने बताउनुभयो । समुदघाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीकाे अध्यक्षता, उपाध्यक्ष विष्णुमाया लुङ्चेको स्वागत, दिव्यज्योति नमुना माविका प्रधानाध्यापक लोकेन्द्र थापाको संचालनमा कार्यक्रमको समुदघाटन भएको हो ।
शिक्षा शाखा संयोजक प्रकाश पाठकले दौड, हाइजम्प लङ्जम्प, कपड्डी, कराते, सटफुट, भलिबललगायतका खेल हुने बताउनुभयो । । प्रतियोगिता माघ १२ गतेसम्म सञ्चालन हुने खेलकुद संयोजक प्रेमबहादुर बाह्रघरेले जानकारी दिनुभयो
।













